पपुलिज्म कम विक्ने भएपछि झापा– ५ मा ‘ज्वाइँ कार्ड’ खेल्दै बालेन, श्रीमतीमार्फत भावनात्मक मत माग्ने रणनीति

दमक– काठमाडौँ महानगरको साँचो बुझाएर झापा झरेका बालेन्द्र शाह (बालेन) लाई सुरुमा धेरैले ‘राजनीतिक दुस्साहस’ भने। केपी शर्मा ओलीको दशकौँ पुरानो प्रभाव, संगठित कार्यकर्ता सञ्जाल र बलियो जनाधार रहेको झापा–५ जस्तो किल्लामा बाहिरबाट गएर चुनावी चुनौती दिनु सजिलो खेल होइन।

आलोचकहरूले उनलाई सीधै ‘टुरिस्ट उम्मेदवार’को ट्याग लगाए। तर चुनावी मैदानमा अहिले देखिएको दृश्यले भने अर्को संकेत गरिरहेको छ— एजेन्डा र संगठन कमजोर देखिएपछि बालेनले ‘नाता–सम्बन्ध’को कार्ड अघि सारेका छन्।

झापा–५ मा यतिखेर बालेनभन्दा बढी चर्चामा छिन् उनकी पत्नी सविना काफ्ले। घरदैलो अभियानमा उनी माइतीगाउँ उर्लाबारीबाट मत माग्दै हिँडिरहेकी छन्। स्थानीयसँग अंकमाल गर्ने, मुस्कुराउँदै हात समात्ने, फूल ग्रहण गर्ने र ‘हाम्रै चेली’को छवि निर्माण गर्ने शैलीमा उनी प्रस्तुत भइरहेकी छन्। भाषण र बहसभन्दा भावनात्मक सम्पर्कलाई प्राथमिकता दिइएको यो अभियानलाई धेरैले ‘सहानुभूति राजनीति’को रणनीति ठान्न थालेका छन्।

दमकदेखि गौरादह र उर्लाबारी आसपासका टोलमा सविना पुगेपछि समर्थकहरूले बालेनलाई ‘काठमाडौँको मेयर’ होइन, ‘हाम्रै ज्वाइँ’ भनेर चिनाउन थालेका छन्। पार्टीका कार्यकर्ताहरू खुल्लमखुला भन्छन— ‘उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेदवार, तपाईंहरूकै ज्वाइँ।’ चियापसल र चौतारीमा गफ चल्छ— ‘ज्वाइँलाई खाली हात कसरी पठाउनु?’

तर यिनै संवादहरूले एउटा गम्भीर प्रश्न पनि उठाइरहेको छन— के प्रतिनिधिसभा चुनाव नीतिको प्रतिस्पर्धा हो कि नातागोता जोड्ने भावनात्मक खेल? राजनीतिक विश्लेषकहरू भन्छन्, जब विचार, योजना र स्पष्ट दृष्टिकोण कमजोर देखिन्छ, नेताहरू भावनात्मक पहिचान खोज्न थाल्छन्।

झापा–५ मा पनि त्यही संकेत देखिन्छ। बालेन स्वयं क्षेत्रका बासिन्दा होइनन्। स्थानीय मुद्दा, संगठन र निरन्तर उपस्थिति उनका लागि चुनौती बनेको छ। त्यसैले ‘ज्वाइँ’को सांस्कृतिक सम्बोधनलाई चुनावी पूँजीमा रूपान्तरण गर्ने प्रयास भएको देखिन्छ।

यसबीच बालेनको कर्णाली दौडाहा पनि विवादित बन्यो। दैलेखमा घण्टौँ कुरेर बसेका समर्थकलाई भेट्न नरोकी हतारिँदै फर्किएको घटनाले स्थानीय असन्तोष जन्मायो। कतिपयले ‘जनता नचिनेको नेता’ भनेर आलोचना गरे। यस्ता प्रश्नबीच झापामा भने सविनामार्फत ‘घरेलु, आफ्नै मान्छे’को छवि बनाउने प्रयास भइरहेको छ।

केपी ओलीले यसअघि झापा सफा र व्यवस्थित रहेको भन्दै बाहिरबाट आएका नेताले यहाँको ‘कल्चर’ बुझ्न नसक्ने टिप्पणी गरेका थिए। त्यसैको व्यंग्यस्वरूप एक मतदाताले सविनालाई गोबर–भुसको गुइँठा उपहार दिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। सविनाले त्यसलाई ‘अमूल्य उपहार’ भन्दै पोस्ट गरिन्। समर्थकका लागि यो आत्मीयताको प्रतीक होला, तर आलोचकका लागि यो चुनावलाई भावनात्मक नाटकमा रूपान्तरण गर्ने संकेत हो।

झापा–५ मा अहिलेको चुनावी माहोल हेर्दा राजनीतिक बहसभन्दा पारिवारिक सम्बोधन हावी देखिन्छ। न रोजगार, न पूर्वाधार, न नीति— बहसको केन्द्र ‘ज्वाइँ’ र ‘चेली’मा सीमित हुँदै गएको छ। प्रतिनिधिसभा जस्तो राष्ट्रिय जिम्मेवारीको चुनावमा यस्तो प्रवृत्तिले मतदाताको विवेकलाई कमजोर बनाउने खतरा पनि उत्तिकै छ।

बालेनले काठमाडौँमा डोजर चलाएर ‘कठोर प्रशासक’को छवि बनाएका थिए। तर झापामा भने उनले सम्बन्धको कार्ड खेलेका छन्। सविना काफ्लेको मुस्कान र अंकमालले केही मत तान्ला, तर अन्ततः प्रश्न उठ्ने नै छ— देश चलाउने नेतृत्व क्षमता भावनाले तय हुन्छ कि एजेन्डाले?

झापा–५ का मतदाता अब यही दोबाटोमा उभिएका छन्। चुनाव केवल ‘हाम्रै ज्वाइँ’ भनेर भोट दिने हो कि ठोस योजना र उत्तरदायित्व हेरेर निर्णय गर्ने ? यही निर्णयले यस क्षेत्रको राजनीतिक भविष्य लेख्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट