कर्णालीमा जनतालाई कुराएर काठमाडौं फर्किए बालेन, दैलेखमा आक्रोशको विस्फोट
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कर्णाली प्रदेशको चुनावी तथा संगठन विस्तार अभियान अधुरै छाडेर शनिबार काठमाडौं फर्किएका छन्। काठमाडौँ फर्के लगत्तै उनी अछाममा गम्भीर घाइते भई टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्थाबारे जानकारी लिन सीधै अस्पताल पुगेका हुन्।
तर चिकित्सकले भेटघाट निषेध गरेपछि उनले परिवारका सदस्यसँग मात्रै कुराकानी गरे र केही दिन काठमाडौंमै बस्ने निर्णय लिएका छन्। दिउँसो करिब १२ बजे ग्राण्डी अस्पताल पुगेका बालेनले सिटौलाका भाइ उमेश सिटौलासँग भेट्दै उपचारको अवस्थाबारे जानकारी लिएका थिए। सिटौलाको स्वास्थ्य अवस्था जटिल रहेको र चिकित्सकले तत्काल भेट्न नदिएको जानकारी पाएपछि उनले परिवारलाई धैर्य गर्न आग्रह गरेका थिए।
चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार सिटौलाको अवस्था गम्भीर छ र चिकित्सकले शनिबार दिनभर स्वास्थ्य अद्यावधिक दिने बताएका छन्। सिटौला सोही संघका निवर्तमान अध्यक्ष हुन्।
निकट स्रोतका अनुसार बालेन केही दिन काठमाडौंमै रहनेछन्। सुर्खेतबाट फर्किनुअघि उनले रास्वपा नेता मधुसुधन ढकाललाई फोन गर्दै आफ्नो कार्यक्रम स्थगित भएको जानकारी गराएका थिए। कलाकार अर्जुन घिमिरे ‘पाँडे’ पनि उनीसँगै काठमाडौं आएका छन्। पार्टी सभापति रवि लामिछानेसँग परामर्शपछि मात्रै उपत्यका बाहिरका आगामी कार्यक्रम तय हुने बताइएको छ।
यद्यपि बालेनको अचानक फर्काइले कर्णाली विशेषतः दैलेखमा भने असन्तोष जन्माएको छ। लुम्बिनी, सुदूरपश्चिम हुँदै शुक्रबार कर्णाली पुगेका उनी दैलेखको राकम कर्णाली र आसपासका क्षेत्रमा स्थानीयले घण्टौं कुरेर बसेका बेला गाडीबाटै नझरी अघि बढेको आरोप लागेको छ। पार्टी कार्यालय उद्घाटन गरेर उनी हतारिँदै सुर्खेत झरेपछि समर्थक र स्थानीय निराश बनेका छन्।
स्वागतका लागि ३–४ घण्टा गाडी चढेर पुगेका उम्मेदवार र समर्थकले ‘गाडीको झ्यालबाटै दर्शन’ गर्नुपरेको भन्दै गुनासो गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा स्थानीयले ‘जनताका कुरा नसुनी आयो–गयो’ भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘एकछिन समय दिन नसक्नेले भोलि ठूलो जिम्मेवारी पाएपछि के गर्लान?’ भन्ने प्रश्नसमेत उठाइएको छ।
विवाद बढेपछि दैलेख क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार नन्दकिशोर बस्नेतले माफी माग्दै कार्यक्रम तालिका परिवर्तन र टोलीका एक सदस्य बिरामी परेका कारण भेटघाट सम्भव नभएको स्पष्टिकरण दिएका छन्। उनले अर्को पटक सभापति रवि लामिछानेसहित दैलेख आएर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार राति दुल्लु पुगेका बालेन त्यही राति सुर्खेत झरेर होटलमा बसेका थिए। शनिबार बिहान पार्टी कार्यालय पुगेर छोटो भेटघाटपछि देउतीबज्यै मन्दिर दर्शन गरी उनी बुद्ध एयरको उडानबाट काठमाडौं फर्किएका हुन्। बिहान ११ बजेतिर उनी काठमाडौं अवतरण गरेका थिए।

