त्रिशूलीमा बस खस्दा १८ जनाको ज्यान गयो, धेरै घाईतेको अवस्था चिन्ताजनक
काठमाडौँ — पोखराबाट राजधानी काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस मध्यराती त्रिशूली नदीमा खस्दा हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। २५ जना घाइते भएका छन्।
रातको निस्पट्ट अन्धकार, पहाडी भिर र अप्ठ्यारो भौगोलिक अवस्थाबीच भएको यो दुर्घटनाले देशै स्तब्ध बनेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत चरौदी–चाइनाधारा आसपास भएको दुर्घटनापछि रातभर उद्धार अभियान सञ्चालन गरिएको थियो, जहाँ सुरक्षाकर्मी र स्थानीयवासीले अत्यन्त कठिन परिस्थितिमा घाइते तथा यात्रुहरूको खोजी गरेका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार ग२ख १४२१ नम्बरको बस सोमबार बिहान करिब सवा १ बजेतिर सडकबाट अनियन्त्रित भई करिब तीन सय मिटर तल नदी किनारतिर खसेको थियो। प्रारम्भिक विवरणअनुसार बसमा ३५ भन्दा बढी यात्रु सवार थिए।
दुर्घटनामा प्रारम्भिक विवरणअनुसार ६ महिला र ११ पुरुषको मृत्यु भएको बताइएको भए पनि पछिल्लो अद्यावधिकअनुसार मृतक संख्या बढेर १८ पुगेको छ। उद्धारका क्रममा ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई जीवित अवस्थामा बाहिर निकालिएको थियो, जसलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ पुगे पनि रातिको समय, दुर्गम भौगोलिक अवस्था र सीमित उपकरणका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताइएको छ।
घटनास्थलमा पुगेका अधिकारीहरूका अनुसार बस पूर्ण रूपमा क्षतविक्षत अवस्थामा भेटिएको थियो। बसभित्रबाट घाइते यात्रुहरूको करुण चिच्याहट सुनिन्थ्यो। घाइतेहरूलाई सुरक्षित स्थानमा ल्याउन अत्यन्त कठिन परिस्थिति सामना गर्नुपरेको थियो। डुंगाको सहायताले यात्रुहरूलाई नदी किनारबाट करिब एक किलोमिटर तलसम्म सारेर त्यहाँबाट सडकतर्फ उकालो निकाली एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको थियो। उद्धार गरिएका घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ।
रातभर उद्धारमा खटिएका धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार घटनास्थलमा उद्धार सामग्रीको अभाव महसुस भएको थियो। प्रहरी र सुरक्षाकर्मीहरूले टर्चको उज्यालोमा घाइतेहरू खोज्दै उद्धार गर्नुपरेको उनले बताए। कठिन भूगोल, अँध्यारो रात र पर्याप्त उपकरण नहुँदा उद्धार अभियान झन् जटिल बनेको उनको भनाइ छ।
दुर्घटनाको वास्तविक कारणबारे अझै स्पष्ट विवरण सार्वजनिक भएको छैन। यद्यपि प्रारम्भिक अनुमानअनुसार रातिको समय, तीव्र मोड, सम्भावित तीव्र गति वा प्राविधिक समस्या जस्ता पक्षहरू अनुसन्धानको दायरामा राखिएको छ।
घाइतेहरुको नामावली

