रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्योः असई पर्शुराम यादवको घट्नास्थलमै मृत्यु

काठमाडौँ— प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि सामग्री र कर्मचारी बोकेर दुर्गम मतदान केन्द्रतर्फ जाँदै गरेको सरकारी गाडी रामेछापमा दुर्घटनाग्रस्त हुँदा एक सुरक्षाकर्मीको ज्यान गएको छ। अन्य सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा पर्दा यादवले ज्यान गुमाएको पुष्टि गरे। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्, जसलाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य छ। घटनाबारे विवरण दिँदै जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजन तिमल्सिनाले गाडीमा कुल ११ जना सवार रहेको र दुर्घटना हुनासाथ तीन जनाले ज्यान जोगाउन गाडीबाट हाम फालेको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानले सडकबाट झण्डै दुई सय मिटर तल गाडी खसेको देखाएको छ, जसका कारण दुर्घटना गम्भीर बनेको बताइएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपेटिका, कागजात तथा कर्मचारी लिएर गाडी रामेछाप सदरमुकाम मन्थलीबाट देउरालीतर्फ जाँदै थियो। ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा पुगेपछि अचानक नियन्त्रण गुमाएर भीरबाट तल खसेको प्रहरीको भनाइ छ।

गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू पनि सवार थिए। दुर्घटनाको खबर पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। उक्त टोलीमा नौ जना गोताखोर र एक जना विपद् व्यवस्थापन विशेषज्ञसमेत रहेका थिए।

उनीहरूले जोखिमपूर्ण भू–भागमा उद्धार अभियान सञ्चालन गर्दै घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर अस्पताल पठाएका थिए। स्थानीय प्रशासनका अनुसार दुर्घटना भएको गाडी मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याउने क्रममा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट