उदयपुरमा प्रहरीको गोली लागेर क्षती भएको मत पेटिकाका ४ मत अव के हुन्छ ?

गाईघाट– उदयपुरको एक मतदान केन्द्रमा अप्रत्याशित घटना घटेपछि केही समय मतदान प्रक्रिया अवरुद्ध भएको छ। सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किँदा मतपेटिका नै क्षतिग्रस्त भएपछि मतदान रोक्नुपरेको थियो।

यद्यपि क्षतिग्रस्त मतपेटिका हटाएर नयाँ मतपेटिका राखेपछि अहिले मतदान पुनः सुचारु गरिएको छ। घटना कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान करिब ७ः१३ बजे भएको हो।

मतदान सुरु भएको केही मिनेटमै सुरक्षामा खटिएका एक प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किएको थियो। प्रहरी स्रोतका अनुसार चुहाडे क्षेत्रमा कार्यरत एक प्रहरी जवान लड्दा उनको हातमा रहेको सर्टगनबाट एक राउन्ड कार्टिज अनायास पड्किएको हो।

पड्किएको गोली प्रत्यक्षतर्फको मतपेटिकामा लागेर बाहिरी भागमा क्षति पुगेको थियो। मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी तत्काल सतर्क भएपछि मतदान प्रक्रिया रोकिएको थियो। घटनापछि मतपेटिकाभित्र रहेका मतपत्रहरूको अवस्था जाँच गरिएको थियो। प्रारम्भिक विवरणअनुसार त्यतिबेलासम्म उक्त मतपेटिकामा जम्मा चार मत मात्रै खसेका थिए र ती मतपत्रमा कुनै प्रकारको क्षति नभएको सुरक्षा स्रोतले जनाएको छ।

मतपेटिका क्षतिग्रस्त भएपछि निर्वाचनसम्बन्धी नियमअनुसार त्यसलाई तत्काल हटाएर अर्को सुरक्षित मतपेटिका राखिएको थियो। नयाँ मतपेटिका प्रतिस्थापन गरेपछि केही समय रोकिन पुगेको मतदान प्रक्रिया पुनः सुरु गरिएको छ। अहिले मतदान केन्द्रमा नियमित रूपमा मतदान भइरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट