बुटवलमा रास्वपा नेता सुलभ खरेलले ‘पैसा बाँडेको’ हल्लाले विवाद चर्कियोः पोल खोलाखोल

रुपन्देही — रुपन्देही क्षेत्र नम्बर २ को बुटवलमा सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल र समानुपातिक उम्मेदवार मञ्जु भुसालले ‘पैसा बाँडेको’ हल्लाले एक होटल घेराबन्दीको अवस्थासम्म पु¥यायो।

घटनासँगै नेकपा (एमाले)का उपसचिव बाबुराम पन्थीले सार्वजनिक रूपमा गम्भीर आरोप लगाउँदै सोही घटनाको सूचना दिने व्यक्ति स्वयं रास्वपाका नेता चित्रबहादुर कार्की रहेको दाबी गरेका छन्। पन्थीका अनुसार पैसा बाँडिएको भन्दै स्थानीयलाई होटलमा जम्मा गराएर उम्मेदवारलाई घेर्न लगाउने खेलभित्र कार्कीको ‘दोहोरो भूमिका’ रहेको आशंका गरिएको छ।

पन्थीले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रश्न उठाउँदै भनेका छन्, ‘चित्र कार्की, सूचना दिने तिमी होइन ? तिमी र मेरो फोन संवाद के हो ? डबल रोल नखेल।’ पन्थीको यो अभिव्यक्तिले घटनापछिको विवादलाई थप चर्काएको छ। उनका अनुसार होटल घेराबन्दीको घटनामा बाहिरबाट सिर्जना गरिएको ‘सूचना र रणनीति’को भूमिका रहेको हुन सक्ने संकेत देखिएको छ।

सोमबार राति बुटवलको इँट्टाभट्टी क्षेत्रमा रहेको एक होटलमा रास्वपा उम्मेदवार सुलभ खरेल, समानुपातिक उम्मेदवार मञ्जु भुसाल तथा पार्टीका नेता चित्रबहादुर कार्की रहेको अवस्थामा स्थानीयले पैसा बाँडिरहेको आशंकामा होटल घेरेका थिए। स्थानीयको भीड बढेपछि स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले अवस्था नियन्त्रणमा लिन खरेल, भुसाल र कार्कीलाई केही समयका लागि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछपछि उनीहरूलाई छाडिएको प्रहरी स्रोतले जनाएको छ। तर, घटनाको वास्तविकता र सूचनाको स्रोतबारे भने विभिन्न राजनीतिक दलबीच आरोप–प्रत्यारोप चलिरहेको छ।

निर्वाचनको ठीक अघिल्लो चरण (मौन अवधि) मा यस्तो प्रकृतिको घटना सार्वजनिक भएपछि रुपन्देहीको राजनीतिक वातावरण झनै तातेको छ। पैसा बाँडेको आरोप, होटल घेराबन्दी, प्रहरी हस्तक्षेप र त्यसपछि सुरु भएको आन्तरिक आरोप–प्रत्यारोपले घटनालाई सामान्य विवादभन्दा बाहिर लगेको विश्लेषण गरिएको छ।

विशेषगरी एमाले उपसचिव पन्थीले नै रास्वपाका एक नेतामाथि ‘सूचना चुहाएको’ र ‘दोहोरो भूमिका खेलेको’ आरोप सार्वजनिक गरेपछि यसले रास्वपाभित्रैको आन्तरिक द्वन्द्व, रणनीति वा षडयन्त्र के हो भन्ने विषयमा पनि राजनीतिक वृत्तमा बहस सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट