उदयपुरको गाईघाट–बेल्टार सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, दुई युवक गम्भीर
काठमाडौँ— मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गाईघाट–बेल्टार खण्डमा भएको यो दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छ।
प्रहरीका अनुसार गाईघाटबाट बेल्टारतर्फ गइरहेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडक छेउमा रहेको सखुवाको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल नियन्त्रण गुमेपछि सडकको उत्तरतर्फ रहेको रुखमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाईका १८ वर्षीय समीर चौधरी, पछाडि सवार सोही क्षेत्रका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए। स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो। तर अस्पताल पुगेलगत्तै समीरलाई चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घाईते दुबै जनाको अवस्था गम्भीर भएकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक रूपमा मोटरसाइकल तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत पर्ने गाईघाट–बेल्टार सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएको स्थानीयले बताएका छन्।
