भ्रष्टाचार मुद्दामा फरार रहेका निलम्बित वडाध्यक्ष मतगणना गर्न जाँदा केन्द्रमै पक्राउ
बारा— भ्रष्टाचार तथा सरकारी कागजात किर्ते प्रकरणमा लामो समयदेखि फरार सूचीमा रहेका जितपुरसिमरा उपमहानगरपालिका–३ का निलम्बित वडाध्यक्ष ताराबहादुर कार्की बिहीबार पक्राउ परेका छन्। मतगणना प्रक्रियामा सहभागी हुन मतदान केन्द्र पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार बजनी गाउँस्थित मतदान केन्द्रमा पुगेका कार्कीलाई प्रहरी टोलीले निगरानीपछि पक्राउ गरेको थियो। डीएसपी दिलिप क्षेत्रीले कार्कीविरुद्ध सरकारी कागजात किर्ते र छाप दुरुपयोगसम्बन्धी मुद्दा चलिरहेको र उनी लामो समयदेखि फरार सूचीमा रहेको जानकारी दिए।
मतदान गर्न तथा मतगणना प्रक्रियासँग सम्बन्धित गतिविधिमा सहभागी हुन केन्द्र पुगेको सूचना पाएपछि प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको उनले बताए। कार्की २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट जितपुरसिमरा उपमहानगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
तर भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि उनी दुई वर्षदेखि निलम्बनमा छन्। निलम्बनकै अवस्थामा उनी कानुनी प्रक्रियाबाट भाग्दै आएका कारण प्रहरीको फरार सूचीमा राखिएका थिए।
राजनीतिक रूपमा पनि कार्कीको पृष्ठभूमि उतारचढावपूर्ण रहेको देखिन्छ। उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय रहँदै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसम्म पुगेका थिए। त्यसपछि उनी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको स्वकीय सचिवका रूपमा पनि कार्यरत रहे।
भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरेपछि भने कार्की पुनः माओवादी धारमै सक्रिय भएका थिए। पछि राजनीतिक धार परिवर्तन गर्दै उनी एमालेमा प्रवेश गरेका थिए र सोही दलबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। मतगणना चलिरहेको संवेदनशील समयमा फरार सूचीमा रहेका निलम्बित जनप्रतिनिधि मतदान केन्द्रमै पक्राउ परेपछि स्थानीय राजनीतिक वृत्तमा समेत चर्चा सुरु भएको छ।
