मतगणना स्थलमै ढलेर रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मृत्यु

विराटनगर— मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक स्थानीय नेताको मृत्यु भएकोे छ। मतगणना प्रतिनिधिका रूपमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयाघातका कारण मृत्यु भएको हो।

पार्टी स्रोतका अनुसार रेग्मी मोरङ–२ को मतगणना स्थलका रूपमा प्रयोग गरिएको सिजुवास्थित विश्वनाथ मन्दिर परिसरमा मतगणना प्रतिनिधिका रूपमा उपस्थित थिए। बिहानदेखि सुरु भएको मतगणनाको प्रक्रियामा उनी सक्रिय रूपमा सहभागी भइरहेका बेला अचानक अस्वस्थ भएर ढलेका थिए।

घटनास्थलमै रहेका सुरक्षाकर्मी तथा अन्य प्रतिनिधिहरूले तत्काल उद्धारको प्रयास गरे पनि उनी होसमा नआएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कट्वालका अनुसार बिहान मतगणना सुरु भएको केही समयपछि रेग्मी अचानक ढलेका थिए र चिकित्सकीय जाँच गर्दा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको हो।

प्रारम्भिक जानकारीअनुसार हृदयाघातका कारण उनको ज्यान गएको प्रहरीको अनुमान छ। अचानक भएको यस घटनाले मतगणना स्थलमा केही समय तनावको अवस्था आएको थियो। त्यहाँ उपस्थित राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरू समेत घटनाबाट स्तब्ध बनेका थिए।

निर्वाचन प्रक्रियाको संवेदनशील चरण चलिरहेको बेला मतगणना स्थलमै एक प्रतिनिधिको निधन भएपछि स्थानीय राजनीतिक वृत्तमा शोकको वातावरण फैलिएको छ। प्रहरीले मृतक रेग्मीको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा पठाएको जनाएको छ। घटनाबारे थप औपचारिक प्रक्रिया अघि बढाइँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट