भक्तपुरमा नेमकिपाको किल्ला ध्वस्तः रास्वपाका उम्मेदवार भारी मतान्तरले विजयी
काठमाडौँ — भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला ध्वस्त भएको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्।
मतगणनाअनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै नेमकिपाका प्रेम सुवाललाई २८ हजार १७८ मतका साथ पराजित गरेका छन्। दुई उम्मेदवारबीचको मतान्तर ५ हजार २५८ पुगेको छ। भक्तपुर १ यसअघि नेमकिपाको गढ मानिन्थ्यो।
०७४ र ०७९ को निर्वाचनमा प्रेम सुवाल विजयी भएका थिए। विशेषगरी ०७९ को निर्वाचनमा उनले ३० हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका थिए। त्यतिबेला सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत मात्र पाएका थिए।
०४७ सालदेखि नै यो क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले फराकिलो मतान्तरसहित विजयी हुने परम्परा कायम गरेका थिए। यस निर्वाचनमा रास्वपाका रन्जितले पुराना र स्थापित नेताहरूको बर्चस्वलाई चुनौती दिएका छन्।
सुवालको लगातार दुईपटकको जितको रेकर्ड यसपटक रोकिएको छ। रास्वपाको विजयले भक्तपुर–१ को राजनीतिक समीकरणलाई पूर्ण रूपमा परिवर्तन गरेको छ।
