बालेनको चुनावी खर्च १४ लाख मात्रै, ८ करोडको डिफेन्डर र हेलिकप्टर प्रयोगबारे विवरण गायब
काठमाडौँ– झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण वुझाएका छन्। उनले आयोगसमक्ष जम्मा १४ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको विवरण पेश गरे पनि चुनावी अभियानका क्रममा प्रयोग भएको महँगो सवारी साधन र हेलिकप्टरको विषय भने उक्त विवरणमा समेटिएको देखिँदैन।
निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार बालेनले चुनावी अभियानका क्रममा सबैभन्दा बढी खर्च घरदैलो कार्यक्रममा गरेको देखिन्छ। २९ वडामा सञ्चालन गरिएको घरदैलो कार्यक्रमका लागि उनले कुल पाँच लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। त्यसपछि सवारी साधन भाडामा प्रयोग गरिएको खर्च उल्लेख गरिएको छ। विवरणअनुसार १५ दिनका लागि दुई वटा गाडी भाडामा लिँदा दुई लाख ९३ हजार आठ सय रुपैयाँ खर्च भएको बताइएको छ। तर कुन गाडी, कुन मितिमा र कसरी प्रयोग गरिएको हो भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन।
यही बीच चुनावी प्रचारका क्रममा बालेन झण्डै आठ करोड रुपैयाँ मूल्य पर्ने बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रंगको ल्याण्ड रोभर डिफेण्डर चढेर प्रचारमा हिँडेको दृश्य सार्वजनिक भएपछि उक्त सवारीको स्रोतबारे चासो बढेको थियो। त्यसपछि गरिएको खोजतलासका क्रममा उक्त गाडी बुटवलस्थित सुर्ती तथा गुट्खा उद्योगका मालिक कमलकिशोर मालपानीसँग सम्बन्धित रहेको खुलासा भएको थियो।
मालपानी करछली विवादमा मुछिएका उद्योगीका रूपमा चिनिन्छन्। तर निर्वाचन आयोगमा बुझाइएको खर्च विवरणमा उक्त गाडीको प्रयोग, भाडा वा सम्बन्धित कुनै खर्चको उल्लेख गरिएको छैन। अहिले सो गाडी सार्वजनिक रूपमा देखिन छाडेको र प्रयोगबारे थप स्पष्टता नआएकोले प्रश्नहरू अझै बढेको छ।
बालेनले आयोगमा बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा हवाई यात्रावापत ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। तर हेलिकप्टर प्रयोगबारे कुनै स्पष्ट विवरण समावेश गरिएको छैन। जबकि निर्वाचन आयोगको आधिकारिक पत्रमार्फत उनलाई काठमाडौं–झापा रुटमा हेलिकप्टर प्रयोग गर्न अनुमति दिइएको पुष्टि भएको छ।
उनी फागुन २१ गते काठमाडौँमा मतदान गरी हेलिकप्टरमार्फत झापा पुगेका थिए। तर, उनी झापामा अवतरण नगरी पुनः काठमाडौँ फर्किएका थिए। खर्च विवरणमा भने हेलिकप्टर प्रयोगबारे कुनै उल्लेख नभएपछि त्यसको वास्तविक खर्च कहाँ समावेश गरिएको हो भन्ने प्रश्न उठेको छ।
आयोगमा बुझाइएको विवरणअनुसार सम्पर्क कार्यालय सञ्चालनमा एक लाख २० हजार रुपैयाँ खर्च भएको देखिन्छ। त्यस्तै प्रचार–प्रसार सामग्री छपाइमा एक लाख ५७ हजार, ब्यानर तथा स्टिकर निर्माणमा एक लाख १९ हजार र मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।
राजनीतिक वृत्तमा भने बालेनले सार्वजनिक गरेको खर्च विवरण र चुनावी अभियानका क्रममा देखिएका गतिविधिबीच ठूलो अन्तर रहेको भन्दै बहस सुरु भएको छ। विशेषगरी महँगो सवारी साधनको प्रयोग, उद्योगीहरूसँगको सम्बन्ध र हेलिकप्टर उडानको खर्च विवरणमा नदेखिनुले पारदर्शितामाथि प्रश्न उठेको विश्लेषकहरूको भनाइ छ।
निर्वाचन खर्च पारदर्शिताको विषय नेपालमा लामो समयदेखि विवाद र बहसको केन्द्रमा रहँदै आएको छ। उम्मेदवारहरूले आयोगमा बुझाउने खर्च विवरण र वास्तविक चुनावी खर्चबीच ठूलो अन्तर हुने आरोप बारम्बार उठ्ने गरेको छ। बालेनको पछिल्लो विवरणले पनि यही बहसलाई पुनः तताएको छ।

