‘ग्रेटर नेपाल’ को नक्सा देखाएर चर्चामा आएका बालेन प्रधानमन्त्री बन्ने चर्चाः कस्तो होला उनको अबको कदम ?

काठमाडौँ– मुलुकमा रवि लामिछाने र बालेन साह नेतृत्वको नयाँ राजनीतिक अध्याय सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवनबाट र वरिष्ठ नेता बालेन साह झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। साहले देशको कार्यकारी नेतृत्व सम्हाल्ने सम्भावना बलियो बन्दै गएको छ।

निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदमा दुईतिहाइ नजिकको शक्ति बनाएसँगै बालेन प्रधानमन्त्री बन्ने चर्चा तीव्र भएको हो। निर्वाचन परिणाम सार्वजनिक हुन थालेसँगै छिमेकी मुलुकबाट समेत प्रतिक्रिया आउन थालेको छ। यसैक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन साहलाई टेलिफोनमार्फत बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्रीसँगको संवादमा बालेनले धन्यवाद दिँदै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। तर उनले कस्तो प्रकारको सहकार्य अघि बढाउने छन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन।

बालेन राष्ट्रिय राजनीतिमा आउनुअघि काठमाडौं महानगरपालिकाका प्रमुखका रूपमा चर्चामा आएका थिए। प्रमुखका रूपमा कार्यरत रहँदा उनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँसेपछि राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय तहमा समेत व्यापक बहस सुरु भएको थियो। नेपालको ऐतिहासिक भूभाग समेटिएको उक्त नक्सा सार्वजनिक रूपमा राखेपछि उनले भारतप्रति चुनौतीपूर्ण सन्देश दिएको भन्दै विभिन्न कोणबाट टिप्पणी भएको थियो।

यसअघि पनि उनले नेपालको सीमासम्बन्धी विषयमा खुलेर धारणा व्यक्त गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने क्रममा बालेनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै नेपाल–भारत–चीन सीमासम्बन्धी मुद्दा उठाउन आग्रह गरेका थिए। उनले विशेषगरी लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको भन्दै त्यसबारे चीनसँग स्पष्ट कुरा गर्न सुझाव दिएका थिए।

सो सन्देशमा उनले नेपालले दाबी गर्दै आएको भूभागको विषय अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट गरिनुपर्ने उल्लेख गरेका थिए। सामाजिक सञ्जाल, सार्वजनिक अभिव्यक्ति र प्रतीकात्मक सन्देशमार्फत राष्ट्रिय स्वाभिमानको पक्षमा कडा आवाज उठाउँदै आएका बालेन अहिले देशको कार्यकारी नेतृत्वतर्फ उक्लिने अवस्थामा पुगेका छन्।

तर आन्दोलनकारी शैलीमा व्यक्त गरिएका धारणा र वास्तविक शासन सञ्चालनबीच ठूलो अन्तर हुने भएकाले अब उनी कसरी अघि बढ्छन् भन्ने विषयमा व्यापक चासो देखिएको छ। प्रधानमन्त्री पद अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण पद भएकाले भावनात्मक सन्देश वा सामाजिक सञ्जालका अभिव्यक्तिको शैलीमा निर्णय लिन सकिने अवस्था हुँदैन।

कूटनीतिक सन्तुलन, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्धको जटिल सन्तुलन कायम गर्दै निर्णय लिनुपर्ने भएकाले बालेनको नेतृत्व शैली अब नयाँ परीक्षाको सामना गरिरहेको छ। महानगर प्रमुख हुँदा विगतका प्रधानमन्त्रीहरूलाई काम गर्न नसकेको भन्दै खुलेर आलोचना गर्ने बालेनले अब आफैं कार्यकारी नेतृत्व सम्हाल्ने अवस्थामा ‘ग्रेटर नेपाल’ को बहस, लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता संवेदनशील भू–राजनीतिक मुद्दामा कस्तो नीति अपनाउँछन् भन्ने प्रश्न अझ पेचिलो बनेको छ।

सामाजिक सञ्जालमा व्यक्त गरिएका राष्ट्रवादी अभिव्यक्तिहरू वास्तविक कूटनीतिक रणनीतिमा रूपान्तरण हुन्छन् कि त्यो केवल जनचर्चा बटुल्ने देखावटी कदम थियो भन्ने प्रश्नको जवाफ भने नयाँ सरकार गठन भएपछि क्रमशः स्पष्ट हुँदै जानेछ। बालेन प्रधानमन्त्री बनेपछि केही समयभित्रै उनका निर्णय र कूटनीतिक कदमहरूले यी सबै बहसलाई घामजस्तै छर्लङ्ग पार्ने निश्चित देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट