पत्रकार हत्या प्रकरणका दोषी ठहर भएका रामविनोद यादव ‘सुशासन’ को नारा लगाउने पार्टीबाटै चुनाव जितेर संसदमा

काठमाडौँ— धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामविनोद यादव पत्रकार अरुण सिंहानियाँको हत्या प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको खुलासा भएको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेर ४१ हजार ६ सय ३७ मतसहित विजयी भएका यादव सञ्चार उद्यमी तथा पत्रकार सिंहानियाँको हत्यामा संलग्न रहेको सजाय भुक्तान गरेको अदालतको अभिलेखले पुष्टि गरेको छ।

जिल्ला अदालत धनुषाले पत्रकार सिंघानिया हत्या प्रकरणमा यादवलाई ३ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई पछि उच्च अदालत जनकपुरले पनि सदर गरेको थियो। अदालतले उपलब्ध प्रमाण र अभियुक्तहरूको बयानका आधारमा यादवलाई हत्या योजनामा सहयोग पु¥याउने, सुटर व्यवस्थापन गर्ने तथा हतियार उपलब्ध गराउने भूमिकामा संलग्न ठहर गरेको थियो।

सिंघानियाको हत्या २०६६ साल फागुन १७ गते होलीको दिन साँझ जनकपुरमा भएको थियो। ‘जनकपुर टुडे’ पत्रिका तथा एफएमका सञ्चालक रहेका सिंघानियामाथि रंग दल्ने बहानामा नजिक पुगेर निधार र टाउकोमा गोली प्रहार गरिएको थियो। पोस्टमार्टम प्रतिवेदनअनुसार दुई वटा गोलीको चोटबाट उनको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धान र अदालतमा प्रस्तुत प्रमाणहरूले यो हत्या सामान्य घटना नभई योजनाबद्ध अपराध भएको देखाएको थियो। घटनाको मुख्य योजनाकारको रूपमा त्यसबेला मधेस राजनीतिमा सक्रिय रहेका संजय कुमार साह ‘टकला’ ठहरिएका थिए, जसले पछि जनकपुर बम विस्फोट प्रकरणमा समेत जन्मकैद सजाय पाए। अनुसन्धानमा यादव टकलाका निकट सहयोगी तथा दाहिने हातका रूपमा देखिएको उल्लेख छ।

अदालतका कागजात अनुसार हत्या अघि जनकपुरस्थित रामा होटलमा योजनाबद्ध बैठक बसेको थियो। त्यही बैठकमा सुटरहरूको व्यवस्था, हतियारको तयारी र हत्या गर्ने रणनीति तय गरिएको थियो। अभियुक्त मनक लामाको बयानमा यादवले आफ्नै झोलाबाट बन्दुक निकालेर सुटरहरूलाई दिएको उल्लेख छ। त्यसपछि होलीको दिन रंग लगाएर कसैले नचिन्ने अवस्था बनाउँदै उनीहरू मोटरसाइकलमा घटनास्थल पुगेका थिए।

सिंघानिया देखेपछि उनलाई घेरा हालेर भाग्न नदिने योजना बनाइएको थियो। त्यसपछि सुटरहरूले टाउकोमा गोली प्रहार गरेका थिए। हत्या गरेपछि संलग्न व्यक्तिहरूलाई सरकारी गाडीमार्फत सुरक्षित स्थानमा पु¥याइएको विवरण पनि अनुसन्धानमा आएको थियो।

यो हत्या किन भयो भन्ने प्रश्नको उत्तर पनि अनुसन्धानबाट खुल्यो। २०६५ सालमा धनुषाको एक डकैती घटनाबारे सिंघानियाले आफ्नो पत्रिका र एफएममार्फत समाचार प्रकाशित गरेका थिए। उक्त समाचारमा टकला समूहको संलग्नता रहेको उल्लेख भएपछि उनीहरू आक्रोशित बनेका थिए। त्यसपछि कार्यालयमै पुगेर धम्की दिने, समाचार सच्याउन दबाब दिने प्रयास भएको र नमानेपछि हत्या योजना बनाइएको प्रहरी अनुसन्धानमा उल्लेख छ।

रामविनोद यादवको आपराधिक इतिहास यही घटनामा मात्रै सीमित छैन। प्रहरी अभिलेख अनुसार उनी २०५४ देखि कुटपिटका घटनामा संलग्न देखिन्छन् भने २०५८ मा प्रहरीमाथि हातपात गरेको आरोप लागेको थियो। २०६० मा गोली चलाएको घटनामा पनि उनी पक्राउ परेका थिए। त्यसपछि २०६४ मा गोली प्रहारसहित डकैतीमा संलग्न रहेको आरोप लागेको थियो।

सिंघानिया हत्या प्रकरणमा यादव लामो समय फरार रहे। घटना भएको सात वर्षपछि २०७३ साउन ३२ गते उनी जिल्ला अदालत धनुषामा उपस्थित भएका थिए। त्यसपछि भएको सुनुवाइमा अदालतले मुलुकी ऐन ज्यानसम्बन्धी महलको व्यवस्था अनुसार दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उनी पुर्पक्षकै क्रममा जेलमा बसेका थिए र पछि सजाय भुक्तान गरेर रिहा भएका थिए।

उक्त फैसलाविरुद्ध यादवले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए। तर उच्च अदालतले जिल्ला अदालतको फैसला नै सदर गरिदियो। त्यसपछि मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। दुई तहका अदालतबाट समान फैसला भइसकेकाले सर्वोच्च अदालतमा पुनरावेदन नजाने निर्णय गरिएको थियो।

नेपालको निर्वाचन कानुन अनुसार हत्या प्रकरणमा २० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले सजाय भुक्तान गरेपछि निश्चित अवधिपछि चुनाव लड्न पाउने व्यवस्था छ। यादवले सजाय भुक्तान गरेर कानुनी अवधि पूरा गरेपछि २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए।

यही क्रममा सुशासन र नयाँ राजनीतिक विकल्पको नारासहित अघि बढेको रास्वपाबाट उनी उम्मेदवार बने। पार्टीका नेताहरूले उनलाई जिताउन सार्वजनिक रूपमा प्रचारसमेत गरेका थिए। अन्ततः उनी धनुषा–२ बाट निर्वाचित भएर संसदमा पुगे।

तर पत्रकार हत्या प्रकरणमा दोषी ठहर भइसकेको व्यक्तिलाई कानुन बनाउने जिम्मेवारीसहित संसदमा पठाइने अवस्था सिर्जना हुनु लोकतन्त्र, न्याय र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ। विशेषगरी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई प्रमुख एजेन्डा बनाउँदै आएको दलबाट यस्तो पृष्ठभूमिका व्यक्ति संसदमा पुगेपछि आलोचना झन् चर्किएको छ।

मधेस क्षेत्रको राजनीतिमा अपराध र शक्तिको सम्बन्ध नयाँ विषय होइन। विगतमा पनि विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरू राजनीतिमा उदाएको उदाहरणहरू प्रशस्तै छन्। पत्रकार सिंघानिया हत्या प्रकरणसँग जोडिएका पात्रहरूको राजनीतिक यात्रा र अपराधको पृष्ठभूमि हेर्दा मधेसको राजनीतिमा अपराधीकरणको समस्या गहिरो रहेको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट