सर्लाहीमा जन्तीको भिडमाथि स्कार्पिओ कुध्योः एक जनाको मृत्यु, ११ घाइते
सर्लाही — सर्लाहीको बरहथवामा बिहेमा सहभागी जन्तीमाथि तीव्र गतिमा आएको स्कार्पिओ गाडी चढ्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गएराति करिब सात बजे बरहथवा नगरपालिका –१० स्थित सितापुर क्षेत्रमा बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सीजेटओ ७७७ नम्बरको स्कार्पिओ गाडीले सडक छेउमा रहेको जन्तीको समूहलाई ठक्कर दिएको थियो। गाडीले अन्धाधुन्ध ठक्कर दिएपछि घटनास्थलमा चिच्याहट र भागदौड मच्चिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनामा परेर बरहथवा–१० का ५० वर्षीय नारायण जर्घामगर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बरहथवामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। उनीहरूमध्ये रौतहटका करिब ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेर हनुमन्त अस्पताल बरहथवामा उपचाररत छन्। रौतहटको गढीमाई नगरपालिका–११ बस्ने विकास पटेलकी श्रीमती बन्धना पटेल बेहोस अवस्थामा सोही अस्पतालमा उपचार गराइरहेकी छन्।
बरहथवा–१० का १८ वर्षीय रुपेश मण्डलको बाँया हातमा चोट लागेको छ भने प्रतिमा कुमारी पटेलको कम्मरमा चोट लागेको छ। त्यस्तै दिलीप रायका दुवै खुट्टा र कम्मरमा चोट लागेको छ भने चन्दन पासवान शरीरका विभिन्न भागमा चोट लागेर नगर अस्पताल बरहथवामा उपचार गराइरहेका छन्।
दुर्घटनामा १२ वर्षीया दीपिका जैसवालको दुवै हातमा चोट लागेको छ भने रामजी रायको टाउकोमा चोट लागेको छ। त्यस्तै मुकेश राउतको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरू एडभान्स अस्पताल बरहथवामा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको भए पनि केहीको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पिओका चालक बरहथवा नगरपालिका–१२ लौकठ बस्ने ४० वर्षीय नरेश ठाुलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले गाडीमाथि नियन्त्रण गुमाउँदा जन्तीको समूहमा सिधै गाडी पसेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार बिहेको घर नजिकै सडकमा जन्तीहरूको भीडभाड थियो। त्यही बेला तीव्र गतिमा आएको स्कार्पिओले अचानक भीडमा ठक्कर दिँदा दुर्घटना भएको हो।
