सप्तरीमा अटो रिक्सामा गाँजा तस्करीः एक क्विन्टलभन्दा बढी गाँजासहित चालक र महिला पक्राउ

राजविराज— सप्तरी प्रहरीले एक क्विन्टलभन्दा वढि गाँजा बोकेको अटोरिक्सासहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने रिक्सा चालक र एक महिला छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरको गस्ति टोलीले शनिवार साँझ करिब साढे ५ बजे सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरा क्षेत्रमा सवारी जाँच गर्ने क्रममा कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटो रिक्सा भित्र राखिएका तीन वटा सेतो बोरामा गाँजा फेला परेको थियो।

प्रहरीले ती बोराहरू नियन्त्रणमा लिएर नापतौल गर्दा जम्मा १ क्विन्टल ११ किलो ८०० ग्राम बराबरको गाँजा बरामद भएको पुष्टि भएको छ। उक्त अटो रिक्सा सप्तरीको कञ्चनरुप नगरपालिका–७ सितापुर टोलका ४२ वर्षीय जामुन महतोले चलाइरहेका थिए। अटो रिक्सा भित्र उनीसँगै सोही स्थानकी २८ वर्षीया कविता कुमारी माझी पनि सवार रहेको प्रहरीले जनाएको छ।

दुवै जनालाई लागूऔषध कसुरअन्तर्गत नियन्त्रणमा लिएर अटो रिक्सा समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनापछि पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार बरामद गरिएको गाँजाको स्रोत, सम्भावित तस्करी सञ्जाल र गन्तव्यबारे विस्तृत अनुसन्धान जारी छ। सीमावर्ती क्षेत्रमा अटो रिक्सा जस्ता साना सवारी साधन प्रयोग गरेर लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको आशंका प्रहरीको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट