जेन–जी आन्दोलनको पीडादायी विरोधाभासः नेपोकिड्सविरुद्ध सडकमा गोली खाए भाइले, संसद् उपहार दिदीलाई
काठमाडौँ— जेन–जी पुस्ताको नेतृत्वमा उठेको आन्दोलनले भ्रष्टाचार, नातावाद र सत्ताको दुरुपयोगविरुद्ध नयाँ आशा जगाएको थियो। सडकमा उत्रिएका हजारौँ युवाले परिवर्तनको सपना देखेका थिए। त्यही आन्दोलनमा सहभागी भएर गोली खाई जीवनभरको अपांगता बोकेका एक युवा अस्पतालको बेडमा छन्, तर केही महिनापछि त्यही आन्दोलनको राजनीतिक परिणामस्वरूप उनको दिदी भने संसद्मा पुग्ने तयारीमा छिन्। यही विरोधाभास अहिले सार्वजनिक बहसको विषय बनेको छ।
डडेल्धुराको अमरगढीका २२ वर्षीय मुकेश अवस्थी जेन–जी आन्दोलनका ती युवा हुन्, जसको जीवन भदौ २३ को दिउँसो नयाँ बानेश्वर क्षेत्रमा अचानक बदलियो। आन्दोलनको भीडबीच सुरक्षाकर्मीले गोली चलाउँदा उनको देब्रे खुट्टामा लागेको गोलीले हड्डी र मुख्य नसाहरू चकनाचुर बनायो। त्यसपछि अस्पतालको शल्यक्रियाले अन्ततः उनको खुट्टा जोगाउन सकेन। केही दिनको संघर्षपछि चिकित्सकहरूले उनको देब्रे खुट्टा काट्नुपर्यो।
मुकेशका सपनाहरू पनि त्यही शल्यक्रियाको कोठामा चकनाचुर भए। डोटीबाट सब–इन्जिनियरिङ सकेर काठमाडौं आएका उनी अष्ट्रेलिया अध्ययनका लागि जाने तयारीमा थिए। सबै कागजात तयार भइसकेका थिए, समयमै प्रक्रिया पूरा भएको भए सायद उनी विदेश पुगिसकेका हुन्थे। तर, उनी आन्दोलनमा उत्रिए। भ्रष्टाचार र नातावादको विरोध गर्दै सडकमा निस्किएको त्यो निर्णयले उनलाई जीवनभरका लागि अपांग बनायो।
नयाँ बानेश्वरको रणभूमि बनेको सडकमा त्यो दिन उनी घाइते आन्दोलनकारीलाई उठाएर एम्बुलेन्समा राख्ने र अस्पताल पठाउने काममा खटिरहेका थिए। तर, उनी अचानक गोलीको निशाना बने। देब्रे फिलामा छिरेको गोलीले खुट्टा क्षतविक्षत बनायो। साथीहरूले खुट्टामा झण्डा बाँधेर उनलाई एम्बुलेन्समा हालेर अस्पताल पु¥याए।
ट्रमा सेन्टरमा राति गरिएको शल्यक्रियापछि उनी २४ घण्टा बेहोस रहे। होस खुल्दै गर्दा उनले नर्सहरूबीचको एउटा वाक्य सुने— ‘यी भाइको खुट्टा काट्नुपर्ने भयो।’ त्यो वाक्यले उनको जीवनको वास्तविकता सुनायो। केही दिनपछि चिकित्सकहरूले खुट्टा काटे र मुकेशको भविष्य नयाँ मोडमा पुग्यो।
त्यही घटनाको केही महिनापछि भने अर्को राजनीतिक घटना भयो। जेन–जी आन्दोलनको घाइते बनेका मुकेशकी दिदी आकृति अवस्थीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गर्यो। खस–आर्य क्लस्टरको नवौं नम्बरमा रहेकी आकृतिको नाम आयोगमा पठाइएपछि उनी संसद्मा पुग्ने लगभग निश्चित भएको छ।
आकृतिले आफू संसद्मा पुगेपछि जेन–जी आन्दोलनका शहीद र घाइतेको आवाज उठाउने दाबी गरेकी छन्। आन्दोलनले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा सदनमा उठाउने उनको भनाइ छ। शिक्षा र स्वास्थ्यका सवालमा पनि आवाज उठाउने उनले बताएकी छन्।
तर यही घटनाले एउटा गम्भीर प्रश्न पनि उठाएको छ— नेपोटिजम र सत्ताको दुरुपयोगविरुद्ध सडकमा रगत बगाउने युवाको परिवार नै आन्दोलनको राजनीतिक लाभको प्रतीक बनेको हो कि भन्ने बहस। राजनीतिक समीकरण बदलिएका छ, एउटा सरकार ढलेर अर्को सरकार बनेको छ। अर्को सरकार बन्ने तयारीमा छ। तर मुकेशको जीवन भने अव एउटा खुट्टाको सहारामा छ।
जेन–जी आन्दोलनले सडकमा ठूलो त्याग र बलिदान देखायो। सयौँ युवा मारिए, हजारौँ घाइते भए। तर ती बलिदानको राजनीतिक परिणाम कता जाँदैछ भन्ने प्रश्न अझै अनुत्तरित छ। सडकमा रगत बगाएर उठाएको नातावादविरुद्धको आन्दोलन अन्ततः फेरि त्यही राजनीतिक संरचनाभित्र समाहित हुँदै गएको संकेत देखिएको भन्दै आलोचना पनि चर्किएको छ।
