सीके राउतको अभिव्यक्तिले मधेशको राजनीतिमा तरंगः संसदीय राजनीतिबाट ‘सन्यास’ कि पुरानै एजेन्डातर्फ फर्कने संकेत ?

राजविराज– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि मधेशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग सुरु भएको छ। यतिमात्र होइन, राउतमाथि गम्भीर प्रश्नहरू पनि उठ्न थालेका छन्।

राउतले फेसवुक मार्फत ‘आफू अब पद र संसदीय प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने तर संघर्षको राजनीति जारी राख्ने’ भन्दै अभिव्यक्ति दिएका छन्। तर उनको यो घोषणाले धेरैका लागि एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ—यो निर्णय केवल व्यक्तिगत विश्राम हो कि पुरानै पृथक्तावादी सोचतर्फ फर्कने संकेत ?

राउतको राजनीतिक पृष्ठभूमि हेर्दा यो प्रश्न सहजै उठ्ने देखिन्छ। उनी लामो समयसम्म ‘मधेशलाई छुट्टै देश बनाउनुपर्छ’ भन्ने पृथक्तावादी विचारका प्रमुख अभियन्ता हुन्। ‘स्वतन्त्र मधेश’ को एजेन्डा उठाउँदै उनले आन्दोलन चलाएका थिए। तर पछिल्ला वर्षहरूमा उनी संसदीय राजनीतिमा प्रवेश गरे र जनमत पार्टी स्थापना गरेर निर्वाचनमा सहभागी भए।

अहिले आएर उनले संसदीय राजनीतिबाट सन्यासको घोषणा गरेपछि धेरैले यसलाई सामान्य राजनीतिक निर्णयभन्दा पनि गहिरो अर्थ बोकेको घटनाका रूपमा हेर्न थालेका छन्। राउत स्वयंले दिएको अभिव्यक्तिले पनि त्यही आशंकालाई थप बल पु¥याएको छ। उनले आफ्नो पार्टी स्थापना कुनै वैचारिक रूपान्तरणका कारण नभई परिस्थितिजन्य बाध्यताबाट भएको दाबी गरेका छन्।

उनका अनुसार २०७५ सालतिर स्वतन्त्र मधेश आन्दोलनलाई सरकारले पूर्ण रूपमा रोक लगाएपछि आन्दोलनलाई निरन्तरता दिन अर्को बाटो खोज्नुपरेको थियो। ‘२०७५ सालमा अब स्वतन्त्र मधेश गठबन्धनलाई सरकारले कुनै पनि काम गर्न नदिएपछि र जनतामाझ जान पूर्ण रूपमा रोक लगाएपछि पार्टी खोल्ने निर्णय गर्नुप¥यो,’ भन्ने राउतको भनाइले धेरैलाई चकित बनाएको छ।

राउतले पार्टी अध्यक्ष बन्ने निर्णय पनि आफ्नो पहिलो चाहना नभएको बताएका छन्। उनले जनकपुरमा केही सहकर्मीहरूलाई बोलाएर नेतृत्व सम्हाल्न आग्रह गरेको तर उनीहरू तयार नभएपछि अन्ततः आफूले नै अध्यक्षको जिम्मेवारी लिनुपरेको बताएका छन्। यसबाट पनि उनले पार्टी गठनलाई राजनीतिक रणनीतिका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।

यसैबीच पूर्वमन्त्री तथा जसपा नेपालका नेता उमेशकुमार यादवले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीलाई धेरैले राउतप्रति लक्षित राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन्। यादवले व्यक्तिको रूपमा निर्वाचन नलड्ने प्रतिबद्धता जाहेर गर्नु र संसदीय राजनीति नै छोड्नु दुई फरक कुरा भएको उल्लेख गरेका छन्।

उनका अनुसार संसदीय व्यवस्था प्रति आस्था राख्ने सबै व्यक्ति चुनाव लड्नैपर्छ भन्ने छैन, तर मुख्य प्रश्न प्रणालीप्रति कसैको आस्था छ कि छैन भन्ने हो। यादवको टिप्पणीले राउतको पछिल्लो घोषणामाथि अप्रत्यक्ष प्रश्न उठाएको देखिन्छ। यदि कसैले संसदीय राजनीतिबाट टाढा रहने घोषणा गर्छ भने त्यो केवल व्यक्तिगत निर्णय हो भन्ने वुझिन्छ। तर, राउतको प्रकरणमा संसदीय व्यवस्थाप्रतिको अनास्थाको संकेत हो कि ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उनको तर्कको आशय बुझिन्छ।

राउतले आफ्नो अभिव्यक्तिमा आफूले दुई पटक निर्वाचन लडेको प्रसंग पनि उल्लेख गरेका छन्। उनका अनुसार दुवै पटक उनले व्यक्तिगत इच्छा विपरीत चुनाव लड्नुपरेको थियो। पहिलो पटक पार्टीलाई राष्ट्रिय दल बनाउने उद्देश्यले र दोस्रो पटक पार्टी कार्यकर्ताको मनोबल जोगाउन बाध्य भएर चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्। उनी भन्छन्, यदि आफू चुनाव नलडेको भए पार्टी संसदसम्म पुग्न नसक्ने र त्यसको दोष पनि आफै माथि आउने अवस्था सिर्जना हुने थियो।

तर अहिले आएर उनले पद र संसदीय प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने घोषणा गरेका छन्। उनले आफू राजनीतिबाट बाहिरिने नभई संघर्षको राजनीतिमा सक्रिय रहने दाबी गरेका छन्। यही बिन्दुमा आएर उनको घोषणाले अझ धेरै प्रश्न जन्माएको छ। किनभने ‘संघर्षको राजनीति’ भन्ने शब्दावलीले धेरैलाई उनी फेरि पुरानै आन्दोलनकारी भूमिकातर्फ फर्कन खोजिरहेका त होइनन् ? भन्ने शंका गर्न बाध्य बनाएको छ।

मधेशको राजनीतिमा सक्रिय धेरै विश्लेषकहरूले राउतको अभिव्यक्तिलाई केवल व्यक्तिगत थकान वा विश्रामको रूपमा मात्र हेरेका छैनन्। बरु उनी संसदीय संरचनाभित्र सीमित हुन नसकेपछि फेरि आन्दोलनकारी राजनीतिक शैलीतर्फ फर्कने तयारीमा छन् कि भन्ने प्रश्न उठाउन थालेका छन्।

राउतको घोषणाले मधेश राजनीतिमा एउटा संवेदनशील बहस सुरु गरेको छ। एकातिर उनी आफू अझै पनि राजनीतिक रूपमा सक्रिय रहने बताइरहेका छन् भने अर्कोतर्फ उनका आफ्नै अभिव्यक्तिहरूले संसदीय राजनीतिमा उनको प्रवेश वास्तविक वैचारिक परिवर्तनभन्दा पनि परिस्थितिजन्य रणनीति मात्र थियो कि भन्ने गम्भीर प्रश्न उठाइदिएको छ।

यही कारण अहिले मधेशको राजनीतिक वृत्तमा एउटा जिज्ञासा तीव्र बनेको छ—संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका सीके राउत वास्तवमै केवल पदको राजनीतिबाट विश्राम लिन खोजिरहेका हुन्, कि उनी फेरि पुरानै पृथक्तावादी राजनीतिक मार्गतर्फ फर्कने संकेत दिइरहेका छन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट