रिसोर्टबाट नक्कली सुन कारोबारः ‘क्रेडिट सुइस’ लेखिएको प्याकसहित चार जना पक्राउ

रौतहट — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टबाट नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका–५ स्थित पुर्व–पश्चिम राजमार्गसँगै रहेको जगत रिसोर्ट होटलमा छापा मार्ने क्रममा नक्कली सुनजस्तो देखिने धातु, मोबाइल सेट तथा अन्य उपकरणसहित चार जनालाई पक्राउ गरिएको हो।

यौन गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको निगरानी र अनुसन्धानका क्रममा उक्त रिसोर्टमा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। सो क्रममा कोठा नम्बर १०२ मा गरिएको चेकजाँचमा गम्भीर आपराधिक गतिविधि उजागर भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव तथा भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेतलाई पक्राउ गरेको छ।

उनीहरू सबैलाई घटनास्थलबाटै पक्राउ गरी शरीर तथा कोठाको विस्तृत खानतलासी गरिएको थियो। खानतलासीका क्रममा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९’ लेखिएको सिलबन्दी प्याकभित्र राखिएको पहेँलो रंगको नक्कली सुनजस्तो धातु चार थान, पोलिएको कालो अवस्थामा रहेको एक थान र टुक्रा पारिएको दुई थान गरी जम्मा सात थान बरामद गरिएको प्रहरीले जनाएको छ।

यी सामग्रीहरू अत्यन्तै योजनाबद्ध ढंगले वास्तविक सुनजस्तै देखिने गरी तयार पारिएको देखिएको छ, जसले सर्वसाधारणलाई ठगी गर्ने स्पष्ट उद्देश्य झल्काउँछ। त्यसैगरी घटनास्थलबाट छ वटा मोबाइल फोन र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबिनजस्तो उपकरणसमेत बरामद गरिएको छ, जुन सम्भवतः नक्कली सुन देखाएर ठगी प्रक्रियामा प्रयोग हुने उपकरणका रूपमा शंका गरिएको छ।

प्रहरी अनुसन्धानले भारतबाट आएका केही व्यक्तिहरू रिसोर्टमा बसोबास गर्दै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनापछि निगरानी बढाइएको देखाएको छ। सोही क्रममा बदनियतका साथ नक्कली सुनको कारोबार सञ्चालन भइरहेको खुलेको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सर्वसाधारणलाई झुक्याएर आर्थिक ठगी गर्ने योजना बनाएको पुष्टि भएको डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन्।

हाल पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट