निर्वाचन प्रहरीको ड्युटीपछि रोजगारी खोज्दै हैदरावाद पुगेका युवकको दुःखद अन्त्य, सडक दुर्घटनामा मृत्यु
गाईघाट— गरिबीबाट छुट्कारा पाउने आशा बोकेर रोजागरी खोज्दै भारतको हैदरावाद पुगेका खोटाङका एक युवकको सात दिन नबित्दै मृत्यु भएको छ। रोजगारीको खोजीमा घर छाडेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको सडक दुर्घटनामा मृत्यु भएको हो।
तिलक चैत २ गते गाउँकै सन्तोष परियार र कृष्ण परियारसँग होटलमा काम गर्ने उद्देश्यले हैदरावादतर्फ लागेका थिए। चैत ५ गते हैदरावाद पुगेका उनी त्यसको भोलिपल्ट अर्थात् चैत ६ गते सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा उनलाई सेकन्दरावादस्थित गान्धी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा चैत ११ गते बिहान उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
स्थानीय अमरसिहं बस्नेतका अनुसार तिलकले विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेका थिए, तर त्यो सपना एक सातामै चकनाचुर भयो। विपन्न परिवारका तिलक केही समयअघि मात्रै निर्वाचन प्रहरीको रूपमा काम गरेर फर्किएका थिए र त्यसपछि रोजगारीको खोजीमा भारत लागेका थिए।
तिलक परिवारका दुई छोरा मध्ये कान्छा छोरा हुन्। उनका पाँच दिदीबहिनी छन् भने श्रीमतीसँग अलग्गिएर बस्दै आएका उनका पाँच वर्षका एक छोरा छन्। उनी भारततर्फ प्रस्थान गरेकै दिन घरमा आएको हावाहुरीले घरसमेत क्षतिग्रस्त बनाएको थियो, जसले परिवारको अवस्था झनै दयनीय बनाएको छ।
उनीहरू रोजगारीको आशामा भारत लैजाने ठेकेदारको पछि लागेर हैदरावाद पुगेका थिए। खोटेहाङ क्षेत्रबाट यसरी दर्जनौं युवा रोजगारीको खोजीमा भारत जाने क्रम बढ्दो छ, जसले जोखिमपूर्ण वैदेशिक श्रम प्रवृत्तिको गम्भीर तस्वीर देखाएको छ।
हाल तिलकको शव अस्पतालमै रहेको छ र दाहसंस्कारका लागि समेत आर्थिक अभावले समस्या उत्पन्न भएको छ। पोष्टमार्टम र आवश्यक कागजात तयार पार्न करिब ६० हजार भारु खर्च लाग्ने भनिएकाले आफन्तहरूले सहयोगका लागि आग्रह गरिरहेका छन्।
