केपी ओलीको पक्षमा अभिव्यक्ति दिएकी किशोरीमाथि बलात्कार र घरेलु हिंसासम्मका धम्की

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सरकारको विरोधमा देशका विभिन्न स्थानमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। शनिबार बिहान ओलीलाई पक्राउ गरेसँगै विरोध प्रदर्शन तीव्र भएको छ।

विरोधका क्रममा एमाले कार्यकर्ता अमिशा पराजुलीले नारा–जुलुस गरेकी थिईन भने सञ्चार माध्यमसँग अन्तर्वार्ता पनि दिएकी थिईन। उनका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

पराजुलीका भाइरल तस्वीर र भिडिओको दुरुपयोग सामाजिक सञ्जालमा उच्च स्तरमा फैलिएको छ। फेसबुक, एक्स र रेडिटमा पराजुलीमाथि बलात्कारको धम्की, द्विअर्थी कमेन्ट र घरेलु हिंसालाई समर्थन गर्ने आपत्तिजनक पोस्टहरू सार्वजनिक भएका छन्।

फेसबुक प्रयोगकर्ता ‘पदम दोङ तामाङ’ ‘यति राम्री मान्छे पनि एमालेमा रहेछन् त’ लेखेका छन् भने ‘लक्ष्मी श्रेष्ठ मगर’ नामकी प्रयोगकर्ताले अमिशालाई बलात्कारपछि हत्या भएकी किशोरी निर्मला पन्तसँग तुलना गर्दै ‘यसको पनि निर्मला पन्तको जस्तो हालत हुनुपर्ने, अनि मात्र दिमाख ठिकमा आउँथ्यो’ लेखेकी छिन्। यो कमेन्टमा केही प्रयोगकर्ताले रियाक्ट समेत गरेका छन्। अर्का प्रयोगकर्ताले रिप्लाई गर्दै लेखेका छन्, ‘बानी परेको होला।’

शनिबार राति ५ः३९ मा फेसबुक पेज ‘म्यूजिक हव’ ले अमिशाको तस्वीर राख्दै व्यङ्ग्यात्मक क्याप्सन ‘एरेन्ज म्यारिज इज स्क्यारी ह्वाट इफ…’ सार्वजनिक गरेको छ। सोही पोस्टमा ‘अविनास थापा’ले द्विअर्थी कमेन्ट गरे भने ‘जेन–जी नेपाल’ प्रोफाइल भएका प्रयोगकर्ताले ‘नानी तिम्रो पनि अलिकति चिलाए जस्तो छ। ढाड…’ लेखेका छन्।

‘साईको नेपाल’ पेजले पनि तस्वीर मिम बनाएर सार्वजनिक गरेको छ। उक्त पोस्टमा ‘राज पुरी’ नामक प्रयोगकर्ताले घरेलु हिंसालाई प्रोत्साहन गर्दै लेखेका छन्, ‘एउटा छालाको पेटी भए पुग्छ।’ यसमा १२६ जनाले रियाक्ट गरेका छन् भने अन्यले द्विअर्थी रिप्लाइ गरेका छन्।

अन्तर्वार्तामा पराजुलीले केपी ओलीलाई पक्राउ गर्ने प्रक्रिया र जनमतको सम्मानबारे प्रश्न उठाएकी थिइन्। यसै क्रममा ‘पीवाई अम्रित’ ले अन्तर्वार्ताको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘नेशनल क्रस रे त…’ लेखेका छन् भने सुजन काफ्लेले ‘इन्टरनेशनल क्रस, इन्टरनेशनल भा..’ भन्दै लेखेका छन्। ‘शनि ढकाल’ले ‘नेशनल क्रश फ्रम रत्नपार्क’ भन्दै भद्दा रिप्लाइ गरेका छन्।

फेसबुक पेज ‘नयाँ खबर’ २८ मार्च साँझ ५ः२६ मा ५२ सेकेन्ड लामो भिडियो पोस्ट गर्दा ‘क्रेजी मोगुरक्स’ ले कमेन्ट गरे, ‘बोल (बोल्न) आउँदैन मु…, र…’ लेखेका छन् भने ‘कल ट्वाण्टी फोर न्युज’ ले पोस्ट गरेको अन्तर्वार्तामा ‘जीडी विकाश ढकाल’ ले बलात्कारपछि हत्या गर्नुपर्ने कमेन्ट गरेका छन। उनले लेखेका छन् ‘बलात्कारीहरू पनि यस्तालाई चाहिँ बलात्कार गरेर मार्नु नि सोझा साझाहरूलाई भन्दा।’

सामाजिक सञ्जालमा यस्ता धम्की र द्विअर्थी कमेन्टहरू फैलिँदा पराजुलीले सोमबार आफ्नो टिकटक अकाउन्ट प्राइभेट गर्न बाध्य भएकी छिन्। जेनजी अभियन्ता तनुजा पाण्डेले भनेकी छन्, ‘विवेकशील लोकतान्त्रिक समाजमा एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ। यस्ता अपराधी मानसिकता बोकेका व्यक्ति समाजमा हाँस्दै, ताली बजाउँदै हिंसा र दुव्र्यवहारको समर्थन गर्छन्।’

‘प्रोजेक्ट अभय’ फेसबुक पेजले पराजुलीमाथि आएको धम्की र दुव्र्यवहारलाई उजागर गर्दै महिलालाई असहमति जनाउन नपाउने समाजको चरित्र देखाएको छ। पेजले स्पष्ट पारेको छ, ‘फ्रिडम अफ स्पिच जति महत्वपूर्ण छ, त्यसैगरी कसैलाई बलात्कारको धम्की दिनु वा यौन दुव्र्यवहार गर्नु आपराधिक छ र पूर्ण रूपमा अस्वीकार्य छ।’

मनोचिकित्सक प्रज्वल आचार्यका अनुसार यस्ता घृणात्मक सामग्री ‘कन्फर्मेसन बायस’, फेक अकाउन्ट र बेरोजगारीका कारण फैलिन्छ। उनले भने, ‘काममा व्यस्त र मानसिक रूपमा स्वस्थ व्यक्ति यस्ता कमेन्ट गर्दैनन्। यस्ता प्रयोगकर्ताहरू केवल अटेन्सन पाउन र आफ्नो अस्तित्व महसुस गर्न यस्ता काम गर्छन्। साइबर अपराधको कानुनी कारबाही भए मात्र यस्तो प्रवृत्ति रोक्न सकिन्छ।’

सो घटनाले सामाजिक सञ्जालमा महिलाको सम्मान, स्वतन्त्र अभिव्यक्ति र साइबर सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता पुष्टि गरेको छ। युवा महिलाहरूले आफ्ना विचार राख्दा आएको धम्की र यौन दुव्र्यवहारले समाजमा सुधारका लागि कडाइ र कानूनी कदम आवश्यक भएको देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट