ढल्केवरको होटलमा पोखराबाट आएकी २३ वर्षीया युवतीको रहस्यमय मृत्यु

जनकपुर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित जुन तारा स्टाप लाइन होटलमा एक युवती रहस्यमय रुपमा मृत फेला परेकी छिन्। होटलको कोठाभित्र २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन।

पोखरा महानगरपालिका–१३ मियापाटी स्थायी घर भएकी विक केही समयदेखि ढल्केवरमै डेरा गरी बस्दै आएकी थिइन्। मंगलबार बिहान होटलको कोठाभित्रै उनको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव भेटिएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। होटल सञ्चालक रामपुकार साह तथा त्यहाँ कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन भएका छन्। घटनापछि उनीहरू फरार हुनुले मृत्यु स्वाभाविक नभई योजनाबद्ध वा शंकास्पद हुनसक्ने संकेत दिएको छ।

प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रहरीले फरार रहेका होटल सञ्चालक र कर्मचारीहरूको खोजी तीव्र बनाएको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको र कुनै पनि सम्भावनालाई नकार्न नसकिने अवस्थामा प्रहरी पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट