हाडनातामै अमानवीय अपराधः आफ्नै १० वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई ४५ वर्ष कैद

हेटौंडा—जिल्ला अदालत मकवानपुरले १० वर्षीया छोरीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय बाबुलाई ४५ वर्ष कैद सजाय तोकेको छ। आइतबार न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले यस्तो निर्णय गरेको हो।

अदालतले अभियुक्तले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको स्पष्ट रूपमा प्रमाणित भएको ठहर गरेको छ। उक्त कसुरमा २० वर्ष कैद सजाय तोकिएको छ भने हाडनाताभित्रको अपराध भएकाले थप २५ वर्ष सजाय जोडिएको छ। यसरी कुल ४५ वर्ष कैद निर्धारण गरिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिएका छन्।

यससँगै अदालतले पीडित बालिकाको पुनस्र्थापनाका लागि आर्थिक दायित्वसमेत तोकेको छ। अभियुक्तबाट ७ लाख रुपैयाँ जरिवाना र थप ५० हजार रुपैयाँ क्षतिपूर्ति गरी कुल साढे ७ लाख रुपैयाँ पीडितलाई उपलब्ध गराउन आदेश दिइएको छ। अदालतको यो आदेशले पीडितलाई न्याय दिलाउने प्रयाससँगै अपराधीमाथि आर्थिक उत्तरदायित्व पनि सुनिश्चित गरेको छ।

घटना गत साउन ३ गते राति घरमै भएको थियो। बालिकाकी आमा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका बेला बाबुले यस्तो जघन्य अपराध गरेको खुलेको हो। घटनापछि पीडित बालिकाले आफ्नी ठूलीआमालाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि परिवारका सदस्यहरूले कानुनी प्रक्रिया अघि बढाउँदै प्रहरीमा उजुरी दिएका थिए।

प्रहरी अनुसन्धान र अदालती प्रक्रियापछि अभियुक्तविरुद्धका प्रमाणहरू पर्याप्त देखिएपछि अदालतले दोषी ठहर गर्दै कठोर सजाय सुनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट