झापामा किशोरीमाथि बलात्कार प्रयास आरोपमा फरार रहेका व्यवसायी पक्राउ

झापा– झापामा एक किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा व्यवसायी बिर्तामोडका ६२ वर्षीय प्रदीप मित्तललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१४ पाथिभरा टोलकी एक किशोरीमाथि गत चैत ३ गते दिउँसो करिब सवा १ बजे बलात्कारको प्रयास गरेका थिए। घटनापछि मानसिक आघात र सामाजिक दबाबबीच रहेकी ती किशोरीले अन्ततः चैत १६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरे पनि आरोपित मित्तल सम्पर्कविहीन थिए। तर सोमबार उनी अचानक आफैं प्रहरी कार्यालयमा उपस्थित भएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउसँगै उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा घटनाको वास्तविक अवस्था, पीडितमाथि परेको प्रभाव तथा सम्भावित अन्य पक्षहरूको समेत गहिरो अध्ययन गरिने बताइएको छ।

प्रहरीले पीडितको गोपनीयता कायम राख्दै निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ। घटनाको सत्यतथ्य उजागर गरी दोषी ठहर भए कडा कारबाही गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट