‘रविलाई भगवान’ बनाउने अभियानः राजदूतको आश कि मुद्दाबाट जोगिन चाप्लुसी?
काठमाडौँ– पूर्वसचिव भीम उपाध्यायको फेसबुक स्ट्याटस अहिले सामाजिक सञ्जाल र राजनीतिक गल्लीमा व्यापक चर्चाको विषय भएको छ। उपाध्यायले ‘समकालीन नेताहरूमा सबैभन्दा ईमानदार नेता’ भन्दै रवि लामिछानेको लामो प्रशंसा गरेका छन्।
उनले लेखेका छन्, ‘आखिर खुला हृदय त रविको नै रहेछ। रवि लामिछाने भोलि चितवन गएर मनका कुरा बोल्छु भनी तयारी गर्दै थिए, तर अघिल्लो दिन अदालतले उनको धरौटीमा रिहा हुने आदेश बदर गरिदियो। केही घण्टामै प्रहरी उनको सयन कक्षमा पुगे, तर पक्राउ पुर्जा थिएन। त्यसबेला रविले भने, – अहिले नै लेख्नुस्, केही छैन, म जहाँ भन्यो त्यही जान तयार छु।’
उपाध्यायले अगाडि लेखेका छन्, मध्यरातमा जेल पठाइए पनि रविले प्रतिशोधका लागि सडकमा टायर बाल्न वा सिंहदरबार घेर्न कहिल्यै भनेनन्। बारम्बार उनले ‘म न्यायालयको सम्मान गर्छु’ भन्दै रहे। राति अत्यधिक उच्च रक्तचापका बावजुद पनि अस्पतालको क्याबिन बेडमा बस्ने अस्वीकृति जनाउँदै जेलकै खाटमा सुते।
भैरहवाको चर्को गर्मीमा जस्ताको छानामुनी राखिएको कोठामा उनले झ्यालबाट बाहिर खसेका पानीका थोपाहरू मात्र महसुस गर्थे। तर उनी जहिल्यै उर्जाशील, सकारात्मक र मुस्कानसहित रहिरहे। आज पनि रवि अदालत धाइरहेका छन्। मुद्दा फिर्ता गर्ने वा नगर्ने निर्णय यतिका महिनासम्म लम्बिएको छ, तर तारेख धाउन जाँदा उनी उस्तै ऊर्जा र मुस्कानसहित उपस्थित हुन्छन्।
खुला छाती, सहिष्णुता र साहस—रवि त्यहि हुन्, जहाँ दुख, सुख, अपमान र सम्मान सबै अट्छ। अरु नेताहरूले यसबाट सिक्नुपर्छ। तर रविको कथा उपाध्यायले देखाएजस्तो मात्र सरल छैन। अमेरिकी नागरिकता प्राप्ति, दोस्रो विवाह, नक्कली नागरिकता र राहदानी प्रकरण, आर्थिक अपचलन, ठगी, जेल फोडी र कैदी भागाउने घटनासम्म उनको नाम जोडिन्छ।
अमेरिका बस्दा आधा दर्जन मुद्दा अदालतमा विचाराधिन थिए। नेपाल फर्केर राजनीतिक क्षेत्रमा प्रवेश गर्दा उनले आफ्नो लोकप्रियता र राजनीतिक महत्वकांक्षालाई प्रयोग गर्दै रास्वपा पार्टी खोले, उपप्रधानसहित गृहमन्त्री बने। तर दोहोरो नागरिकता र राहदानी प्रकरणले उनलाई संसद र मन्त्री पदबाट हट्न बाध्य पार्यो।
सहकारी ठगी, सम्पत्ति सुद्धिकरण, संगठित अपराध, र देशभरि अदालतमा विचाराधिन मुद्दा—यी सबै घटनाका बाबजुद उपाध्यायले रविको गुनगान गर्दै ‘भगवान’ बनाउन खोज्नुलाई कतिपयले प्रश्न उठाएको छ। कतिपयले यो राजदूत बन्ने आशमा चाप्लुसी भएको भन्दै आलोचना गरेका छन्। कतिपयले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दाबाट बच्न प्रशंसामा लागेको आरोप पनि लगाएका छन्।
सामाजिक सञ्जालमा उठेका प्रतिक्रियामा केहीले लेखेका छन्। मन्दिप श्रेष्ठ लेख्छन–‘अमेरिका लोन सेटलमेण्ट र सहकारीको विगो तिर्दै तिर्दै हैरान छन् रवि, भोली दोषी ठहरे ? हो त्यहीँनेर एउटा लिडरको संकट पर्यो। हेर्दै जानोस इतिहाँसमा को कलंकित हुन्छ ?। रास्वपाको झोले।’
कतिपयले अमेरिकी नागरिकता बोकेर नेपालमा गृहमन्त्री बनेको रविले दोस्रो पटक चितवनमा भएको उपचुनावमा राज्यको करोडौं रकम फिर्ता गर्ने हिम्मत राख्छन् कि भन्र्दै प्रश्न गरेका छन्। १४ हजार कैदी भाग्ने घटनामा उनको भूमिका र भिम उपाध्यायको प्रशंसापछि उठेका शंका अझै व्यापक छन्।
अमृतकुमार भट्टले भनेका छन्, ‘यसो राजदुत बनाइदेलान कि भनेर चाप्लुसी घसेको त हैन नि। बिना स्वार्थ खाली मनबाट लेखेको भए ठिक हो। तर मौकामा चौका हानेर, जेल तोडेर कैदी भगाउने, अदालतको उपहास गर्ने, दोहोरो नागरिकता र पासपोर्ट हातमा हल्लाउँदै हिड्ने रवि जस्ता व्यक्तिलाई महापुरुष सम्झेर गुनगान गर्नु उचित छैन।’
अन्यले पनि उपाध्यायको प्रशंसामा सन्देह व्यक्त गर्दै भनेका छन्। ‘थोरै इमान छर बाफ्रे… मुलुकमा कतिपय नेता आफैं विवादमा छन्, सहकारीमा जिम्मेवार पदमा बस्नेले जिम्मेवारी बेवास्ता गर्छन्। सबै कुरा बुझेर मात्र निर्णय गर्नु आवश्यक छ।’
यसरी, भीम उपाध्यायको स्ट्याटसले रवि लामिछानेको व्यक्तित्व र कार्यशैलीलाई उजागर गरे पनि राजनीतिक र सामाजिक आलोचनाको घेरा अझै रहस्यमय छ। प्रशंसा र विवादबीचको यो द्वन्द्वले नेपाली राजनीतिक परिदृश्यमा रविको छवि अझै विवादास्पद र संवेदनशील बनेको देखाउँछ।

