एमालेमा प्रौढ नेताकै नियन्त्रणः बादल निर्विरोध, नेम्वाङले प्रश्तावक र समर्थक नै पाएनन

काठमाडौँ— नेकपा एमालेभित्र संसदीय दलको नेताको चयन प्रक्रिया अन्ततः प्रतिस्पर्धाबाट नभई संस्थापन पक्षको कडा नियन्त्रणमा निष्कर्षमा पुगेको छ। सुरुमा प्रतिस्पर्धात्मक देखिएको प्रक्रिया अन्तिम क्षणमा आएर एकपक्षीय बनेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा दलको नेता बनेका हुन।

दलको नेतामा दाबी गर्दै आएका सुहाङ नेम्वाङले उम्मेदवारी दिने तयारी गरे पनि प्रस्तावक र समर्थक नपाएपछि उनको उम्मेदवारी प्रक्रिया नै अघि बढ्न सकेन। निर्वाचन समितिका अनुसार बादलको मात्र उम्मेदवारी परेकाले उनलाई निर्विरोध चयन गरिएको हो।

पार्टीस्रोतका अनुसार नेम्वाङलाई दलको नेता बनाउन केही प्रभावशाली नेताहरू सक्रिय थिए। विशेषगरी उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूले उनलाई उम्मेदवार बन्न प्रोत्साहित गरेका थिए र आवश्यक समर्थन जुटाउने प्रयास पनि गरेका थिए। तर, संस्थापन पक्षले त्यसलाई निर्णायक रूपमा रोक्ने रणनीति अपनायो।

महासचिव शंकर पोखरेलले व्यक्तिगत रूपमा सांसदहरूसँग सम्पर्क गरी नेम्वाङको पक्षमा नलाग्न दबाब दिएको आरोप पार्टीभित्रै उठेको छ। एक नेताका अनुसार सांसदहरूलाई व्यक्तिगत रूपमा सम्झाइबुझाइ मात्रै होइन, दबाबको शैलीमा समेत प्रभावित पारिएको थियो। जसका कारण नेम्वाङका लागि प्रस्तावक र समर्थक बस्ने सांसद नै जुट्न सकेनन्।

यसै कारण उनले मनोनयनपत्र लिएर तयारी गरे पनि अन्ततः उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाउन सकेनन्। उनको पक्षमा उभिने वातावरण कमजोर बन्दै जाँदा अन्तिम क्षणमा नेम्वाङ पछि हट्न बाध्य भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट