ईभी चार्जिङ क्षमताबृद्धिको नाममा घुस लिने विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख दास रंगेहात पक्राउ
राजविराज– सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख १ लाख ४० हजार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। ईभी चार्जिङ स्टेसनका लागि विद्युत् क्षमता वृद्धि गरिदिने नाममा रकम असुल्दै आएको आरोपमा वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहा स्थित कोशी साइड रिसोर्ट होटलमा घुस लेनदेन भइरहेको गोप्य सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो। सेवाग्राही कृष्ण मुरारी यादवसँग विद्युतीय लाइनको क्षमता ९० केभीबाट बढाएर १६० केभी पुर्याइदिने आश्वासन दिँदै पटक–पटक दबाब सिर्जना गरेका दास अन्ततः घुस लिँदै गरेको अवस्थामा रंगेहात समातिएका हुन्।
इन्स्पेक्टर खगेन्द्र ऐकतेनको नेतृत्वमा खटिएको अख्तियार टोली र इलाका प्रहरी कार्यालय भारदह, सप्तरीबाट असई नागेश्वर थान्दारको कमाण्डमा रहेको संयुक्त सुरक्षा टोलीले होटल परिसरमै योजनाबद्ध रूपमा अपरेसन सञ्चालन गरेको थियो। घटनास्थलबाट घुस रकमसमेत बरामद गरिएको छ, जसले आरोपलाई थप बलियो बनाएको छ।
अख्तियार स्रोतका अनुसार सेवाग्राहीबाट प्राप्त उजुरीपछि केही समयदेखि निगरानी राखिएको थियो। चार्जिङ स्टेसन सञ्चालनका लागि ट्रान्सफर्मर जडान र लाइन विस्तार प्रक्रिया छिटो गरिदिने प्रलोभन देखाउँदै अवैध लाभ लिन खोजिएको पुष्टि भएपछि अपरेसन अघि बढाइएको हो। पक्राउपछि दासलाई आवश्यक प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालयमा लगिएको छ।
यो घटनाले सार्वजनिक सेवा प्रवाहमा देखिँदै आएको ढिलासुस्ती, अपारदर्शिता र भ्रष्टाचारको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ। सेवाग्राहीलाई सेवा दिनुपर्ने जिम्मेवारीमा रहेका उच्च पदस्थ कर्मचारी नै अवैध आर्थिक लाभ लिन सक्रिय देखिनु राज्य संयन्त्रप्रति जनविश्वास कमजोर बनाउने कारकका रूपमा उभिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता भए नभएको विषयमा समेत छानबिन गरिने र दोषी पाइएमा कानुनअनुसार कडा कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

