सिंहदरबार जल्दै गर्दा ‘वि डिड इट’ भन्दै उत्सव मनाईरहेका हेमराज थापाको भिडियो भाईरल

काठमाडौँ— सिंहदरबार जलिरहेका बेला ‘वि डिड इट’ भन्दै साथीहरूसँग उत्सव मनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हेमराज थापाको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

बिहीबार रातिदेखि भाइरल बनेको उक्त भिडियो हेरेर उनी चौतर्फी आलोचनाको केन्द्रमा परेका छन्। भिडियो २४ भदौमा भएको जेन–जी आन्दोलनसँग जोडिएको बताइएको छ, जसमा पृष्ठभूमिमा सिंहदरबार क्षेत्रबाट धुवाँको मुस्लो उडिरहेको दृश्यसमेत देखिन्छ।

यही दृश्यलाई आधार बनाएर सामाजिक सञ्जालमा थापाले सिंहदरबार आगजनीपछि उत्सव मनाएको आरोपसहित कडा कारबाहीको माग हुन थालेको छ। सार्वजनिक पदको आकांक्षा राख्ने एक राजनीतिक पात्रले राज्यको प्रमुख प्रशासनिक केन्द्रमा भएको क्षतिप्रति उत्सव मनाएको जस्तो देखिने दृश्यले स्वाभाविक रूपमा प्रश्नहरू जन्माएको छ।

विवाद चर्किएपछि थापाले भने उक्त आरोपलाई अस्वीकार गरेका छन्। उनले आफूले सिंहदरबारमा आगजनी भएको विषयबारे तत्काल कुनै जानकारी नै नपाएको दाबी गर्दै भिडियोको अर्थ तोडमोड गरिएको बताएका छन्।

उनका अनुसार त्यो क्षण कुनै भौतिक संरचना जलाइएको घटनासँग सम्बन्धित नभई केपी शर्मा ओली नेतृत्वको सत्ता ढलेको प्रतीकात्मक खुशी मात्रै थियो। ‘हामी त्यहाँ पुग्दा तोडफोड भइसकेको थियो, नाराबाजी चलिरहेको थियो। आगो लगाइएको कुरा त्यतिबेला थाहा नै भएन,’ थापाको भनाइ छ।

पछि मात्रै आफुले सिंहदरबारमा आगजनी भएको सुनेको दाबी गर्दै आफूले ‘पुरानो सत्ता ढल्यो’ भन्ने भाव व्यक्त गर्न खोजेको स्पष्टिकरण दिएका छन्। यद्यपि, भिडियोको दृश्य, शब्द चयन र त्यसको सन्दर्भबीचको असंगतिले उनको स्पष्टीकरणप्रति पनि प्रश्न उठाइरहेको छ।

आफुले प्रयोग गर्ने भाषा, संकेत र समयको संवेदनशीलता कति महत्वपूर्ण हुन्छ ? भन्ने विषय जानकारी राख्न नसक्ने ब्यक्तिले कसरी सार्वजनिक जीवनमा सकारात्मक भूमिका खेल्न सक्छ भन्ने कुरा यो भिडियोले देखाएको छ।

हेमराज थापा यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट रास्वपाका उम्मेदवार थिए। उनी उक्त निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका थिए। त्यसपछि सामाजिक सञ्जालमा बाजुरावासीप्रति लक्षित अभिव्यक्तिका कारण समेत विवादमा परेका थिए। अहिलेको भिडियो प्रकरणले उनको राजनीतिक छवि पुनः दबाबमा परेको देखिन्छ।

समग्रमा, यो घटनाले सामाजिक सञ्जालमा देखिने ‘क्लिप–आधारित राजनीति’ कति खतरनाक हुन सक्छ भन्ने संकेत गरेको छ, जहाँ केही सेकेन्डको दृश्यले नै धारणा निर्माण गर्छ र त्यसले व्यक्तिको सार्वजनिक छविमा गहिरो असर पार्छ। तर यससँगै, सार्वजनिक व्यक्तित्वहरूले आफ्नो अभिव्यक्तिमा अपनाउनुपर्ने संयमता र जिम्मेवारीको प्रश्न पनि उत्तिकै गम्भीर रूपमा उठेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट