बलात्कार आरोपछि १७ वर्षको करियर १७ सेकेन्डमै ध्वस्तः ५ दिनपछि हाजिरी जमानीमा छुटे ‘बले’

काठमाडौँ— बलात्कार आरोपमा पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएका कलाकार सागर लम्साल ‘बले’ रिहा भएका छन्। पाँच दिनको हिरासतपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार उनलाई परिवारको जिम्मामा रिहा गरिएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले रिहाइको पुष्टि गरेका छन्। यद्यपि, अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लगाएको बलात्कारको आरोप अझै सार्वजनिक बहसको केन्द्रमै छ। उक्त आरोपसँग सम्बन्धित औपचारिक किटानी जाहेरी नेपालमा दर्ता नभएको अवस्था छ, जसका कारण प्रहरी अनुसन्धान अभद्र व्यवहारको मुद्दामा सीमित भएको देखिन्छ।

यो प्रकरणको सबैभन्दा संवेदनशील पक्ष भनेको सामाजिक सञ्जालमा गरिएको पोस्टलाई आधार बनाएर राज्य संयन्त्र सक्रिय भएको छ। तर औपचारिक कानुनी आधार अझै स्पष्ट छैन। यही कारणले कानुनी प्रक्रिया, प्रमाणको विश्वसनीयता र न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

हिरासतमा रहेका लम्साललाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार कलाकारको मानसिक अवस्था अत्यन्तै कमजोर देखिएको थियो। ‘दाइ, मेरो १७ वर्षको मेहनत १७ सेकेन्डमै सकियो’ भन्ने भावनात्मक अभिव्यक्तिले यो प्रकरणले उनको व्यक्तिगत र व्यावसायिक जीवनमा कस्तो गहिरो असर पारेको छ भन्ने संकेत दिन्छ। गिरी स्वयंले पनि यस्तो अवस्था देखेर स्तब्ध भएको बताएका छन्।

तर घटनाको अर्को पाटो झन् जटिल र तीव्र छ। आरोप लगाउने युवतीले आफ्नो पहिचान सार्वजनिक गर्दै यो मुद्दालाई व्यक्तिगत पीडाभन्दा बाहिर लैजाने प्रयास गरेकी छन्। उनले आफूले भोगेको घटना ‘सस्तो आरोप’ नभई गम्भीर यथार्थ भएको दाबी गर्दै न्यायका लागि अन्तिमसम्म लड्ने घोषणा गरेकी छन्। उनको पछिल्लो अभिव्यक्ति अझ आक्रामक र चेतावनीपूर्ण छ, जसले सामाजिक दबाबलाई थप तीव्र बनाएको छ। उनले आफू मात्र होइन, धेरै दबिएका आवाजहरूको प्रतिनिधित्व गरिरहेको दाबी गरेकी छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट