पक्राउ पुर्जी जारी भएपछि सिरहाका मेयर फरार, भारत पुगेको आशंका

लहान— कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि सिरहा नगरपालिकाका मेयर नविनकुमार यादव सम्पर्कविहीन भएका छन्। मेयर यादव मोबाइल स्विच अफ गरेर फरार भएका हुन्।

गत सोमबार बिहान करिब ९ बजे नियमित हाजिरी चलिरहेका बेला कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ। कार्यालयभित्रै भएको यो घटनाले कर्मचारी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु स्थानीय शासनको चरित्रमाथि ठाडो प्रहार मानिएको छ।

पीडित रामशरण यादवलाई गम्भीर चोट लागेको छ र उनको विराटनगरमा उपचार भइरहेको छ। घटनापछि उनी स्वयंले दिएको उजुरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गर्दै बिहीबार मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। तर, कानुनी प्रक्रिया अघि बढेसँगै उनी सम्पर्कबाट बाहिरिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार पक्राउ पुर्जी जारी भएदेखि नै मेयरको खोजी तीव्र बनाइएको छ, तर अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन। प्रारम्भमा मोबाइल अन राखेका यादव बिहीबार साँझदेखि पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन्, जसले उनको फरार अवस्थालाई थप पुष्टि गरेको छ।

प्रहरी स्रोतका अनुसार उनी स्थानहरू परिवर्तन गर्दै लुकेर बसेको देखिएको छ। सीमावर्ती क्षेत्र भएकाले भारततर्फ भागेको आशंकासमेत गरिएको छ। घटनामा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् र हाल जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएका छन्। उनीमाथि पनि सोही घटनामा संलग्नताको आरोपमा अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट