सिरहामा ‘सुपारी किलिङ’को पर्दाफासः पारिवारिक रिसइबीले भारतीय सुटरमार्फत प्रेमनाथ यादवको हत्या
लहान — तीन महिनासम्मको सूक्ष्म अनुसन्धानपछि सिरहामा घटेको एक रहस्यमय हत्या प्रकरणको भयावह यथार्थ बाहिरिएको छ। सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरेर योजनाबद्ध रूपमा गराइएको प्रहरीले पुष्टि गरेको छ।
गत माघ १६ गते दिउँसो सिरहा नगरपालिका–७ स्थित आफ्नै खेत नजिकको बाँघासारी क्षेत्रमा प्रेमनाथमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि सुरु गरिएको अनुसन्धान स्थानीय ५२ वर्षीय उपेन्द्र यादवतर्फ केन्द्रित भएको थियो। अन्ततः अनुसन्धानबाट प्रेमनाथ र उपेन्द्रबीच विगत चार वर्षदेखि चलिरहेको पारिवारिक विवाद नै हत्या योजनाको मूल कारण रहेको खुलेको छ।
प्रहरीका अनुसार उपेन्द्र यादवले सोही रिसइबीलाई अन्त्य गर्ने उद्देश्यले भारतीय सुटरलाई ‘सुपारी’ दिएका थिए। प्रारम्भिक बयानमा उनले तीन लाख रुपैयाँमा हत्या गराउने सहमति गरेको स्वीकार गरेका छन्, जसअनुसार एक लाख रुपैयाँ अग्रिम दिइएको र बाँकी दुई लाख रकम दिन बाँकी रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न भनिएका अन्य भारतीय नागरिकहरूको खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिएका छन्।
यसैबीच, यो अनुसन्धानका क्रममा प्रहरीले अर्को एक गम्भीर गोली प्रहार घटनासमेत उजागर गरेको छ, जसले एउटै आपराधिक सञ्जालबाट विभिन्न ‘टार्गेट’ मा आक्रमण भइरहेको संकेत दिन्छ। औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मा माथि गत माघ ४ गते राति गाउँकै जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार गरिएको थियो।
उनलाई टाउकोमा गोली लागेको थियो। गम्भिर अवस्थामा उपचारका लागि विराटनगर पु¥याईएका उनी अहिले खतरामुक्त अवस्थामा छन्। प्रहरी अनुसन्धानले यो आक्रमण पनि सोही भारतीय सुटरमार्फत गरिएको देखाएको छ।
स्थानीय ५५ वर्षीय हरि ठाकुरले व्यक्तिगत रिसइबी साँध्न ५० हजार रुपैयाँमा हत्या प्रयास गराएको प्रारम्भिक तथ्य खुलेको छ। यस घटनामा संलग्न सुटर र उनीहरूलाई स्थानीय स्तरमा सम्पर्क गराउने व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यो घटनाक्रमले सिरहा जिल्लामा आपराधिक प्रवृत्ति नयाँ ढाँचामा विस्तार भइरहेको संकेत दिएको छ, जहाँ व्यक्तिगत द्वन्द्वले ‘सुपारी किलिङ’ जस्तो संगठित र सीमापार अपराधको रूप लिँदै गएको देखिन्छ। प्रहरीले अनुसन्धानलाई अझ गहिरो बनाउँदै सम्पूर्ण सञ्जाल उजागर गर्ने तयारी गरेको जनाएको छ।

