सिरहामा प्रहरी र अदालत ‘मिलाइदिने’ भन्दै ६ लाख ठगी गर्ने राकेश साह पक्राउ

लहान– सिरहामा प्रहरी र अदालत मिलाएर मुद्दा छिनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले गोलबजार नगरपालिकाका राकेश साहलाई ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गोलबजारकै अजय साहले दिएको जाहेरीमा राकेश साहले बैंकिङ कसुरसहित विभिन्न मुद्दा मिलाइदिने आश्वासन दिँदै ६ लाख रुपैयाँ लिएको तर कुनै काम नगरी रकम हिनामिना गरेको आरोप छ। पीडितको उजुरीपछि प्रारम्भिक अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जाहेरी दर्ता भएपछि प्रमाण र घटनाक्रमका आधारमा साहलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक सोधपुछपछि थप अनुसन्धानका लागि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

सिरहा जिल्ला अदालतले मंगलबार उनलाई पहिलोपटक पाँच दिनको म्याद थप गर्दै थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले घटनाको आर्थिक लेनदेन, सम्पर्क र संलग्न अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट