छोरीको जन्मदिनमा पत्रकारले बाँडे बहिरा बालबालिकालाई शैक्षिक सामग्री

राजविराज — सप्तरीका एक जना पत्रकारले व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। पत्रकार ओमप्रकाश साहले आफ्नी छोरी ओरिसाको छैठौं जन्मदिनको अवसरमा राजविराजस्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै समारोहलाई अर्थपूर्ण बनाएका हुन्।

बुधबार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर र इरेजरलगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। ओरिसाकी आमा रिता साहका अनुसार बालबालिकाको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सामग्री छनोट गरिएको हो, जसले उनीहरूको दैनिक अध्ययनमा प्रत्यक्ष सहयोग पु¥याउने विश्वास गरिएको छ।

कार्यक्रम पत्रकार ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयकुमारलाल कर्ण, राजविराज ६ का वडा सदस्य दीपक शर्मा तथा विद्यालयकी प्रधानाध्यापक चाँदनी यादवलगायतको उपस्थिति थियो।

सहभागीहरूले बालिका ओरिसालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता अवसरहरूलाई केवल औपचारिक भोजभतेरमा सीमित नगरी समाजका विपन्न, असहाय र विशेष आवश्यकता भएका वर्गप्रति सहयोग र सहकार्यको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

पत्रकार साहले पनि आफ्नी छोरीको जन्मदिन हरेक वर्ष यस्तै सामाजिक कार्यमार्फत मनाउँदै आएको उल्लेख गर्दै साना प्रयासहरूले पनि ठूलो परिवर्तनको आधार तयार गर्न सक्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट