यातायातमा निमित्त प्रमुखबाट हटाइएपछि रोहिताको राजीनामाः आत्मसम्मानको निर्णय कि राजनीतिक संकेत?

राजविराज — सप्तरीस्थित यातायात व्यवस्था कार्यालय राजविराजमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएपछि अधिकृत छैठौँ तहका कर्मचारी कामेश्वर प्रसाद रोहिताले सरकारी सेवाबाटै राजीनामा दिएका छन्।

जिम्मेवारी खोसिएपछि उत्पन्न असन्तुष्टि, आत्मसम्मानको प्रश्न र बदलिँदो व्यक्तिगत प्राथमिकताबीच उनले जागिर छाड्ने निर्णय लिएको जनाईएको छ। जस घटनाले प्रशासनिक वृत्तमै चर्चा र तरंग पैदा गरेको छ।

मधेश प्रदेशअन्तर्गतको श्रम तथा यातायात मन्त्रालयले चैत २३ गते सातौँ तहका कर्मचारी शशी प्रसाद यादवलाई कार्यालय प्रमुखको जिम्मेवारीसहित खटाएपछि रोहिताले सम्हाल्दै आएको निमित्त प्रमुखको पद स्वतः समाप्त भएको थियो। उक्त निर्णयसँगै उनी तल्लो तहको कर्मचारीका रूपमा काम गर्नुपर्ने अवस्थाको सामना गर्नुपरेको थियो, जसलाई उनले अस्वीकार गर्दै राजीनामाको बाटो रोजेको कार्यालय स्रोतको भनाइ छ।

रोहिताले कार्यालय प्रमुखलाई सम्बोधन गर्दै बुझाएको राजिनामा पत्रमा औपचारिक रूपमा कुनै कारण खुलाएका छैनन्। तर उनले वैशाख २१ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। औपचारिक पत्र मौन रहे पनि भित्री असन्तुष्टि भने स्पष्ट रूपमा देखिएको स्रोतहरूको दाबी छ।

स्रोतका अनुसार रोहिताको राजीनामाको सतहमा देखिने कारण पदबाट हटाइनु भए पनि भित्री रूपमा यो निर्णय अझ गहिरो छ। विश्वस्त स्रोतहरूले जनाएअनुसार उनी पछिल्लो समय सत्तामा रहेको राजनीतिक दल रास्वपासँग नजिक हुँदै गएको र खुला राजनीतिमा प्रवेश गर्ने तयारीसमेत गरिरहेको संकेत देखिएको छ।

यस विषयमा सार्वजनिक रूपमा धेरै नबोल्न चाहेका रोहिताले आफू लामो समयदेखि सरकारी सेवामा रहेको र अब काम गर्ने इच्छा नरहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले व्यक्तिगत रूपमा भेटेर थप जानकारी दिने संकेत गरे पनि अहिलेसम्म विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।

यता, हालका कार्यालय प्रमुख शशी प्रसाद यादवका अनुसार रोहिताले वैशाख ११ गते कार्यालय समयमै राजीनामा पेश गरेका थिए र सो निवेदनलाई विधिसम्मत प्रक्रिया अघि बढाइएको छ। सनाखतका लागि बोलाइए पनि रोहिताले हालसम्म उपस्थिति जनाएका छैनन्, जसले प्रक्रियामा थप जटिलता थपेको छ।

स्रोतका अनुसार रोहिताको राजीनामाको सतहमा देखिने कारण पदबाट हटाइनु भए पनि भित्री रूपमा यो निर्णय अझ गहिरो छ। विश्वस्त स्रोतहरूले जनाएअनुसार उनी पछिल्लो समय सत्तामा रहेको राजनीतिक दल रास्वपासँग नजिक हुँदै गएको र खुला राजनीतिमा प्रवेश गर्ने तयारीसमेत गरिरहेको संकेत देखिएको छ।

यही राजनीतिक आकांक्षा नै उनको राजीनामाको प्रमुख कारण भएको दाबीसमेत गरिएको छ। यस घटनाले प्रशासनिक पदमा हुने नियुक्ति, जिम्मेवारी हेरफेर र त्यसले कर्मचारीको मनोविज्ञानमा पार्ने प्रभावबारे पुनः बहस सुरु गराएको छ। एकातिर पद गुमेपछि कर्मचारीले प्रणालीभित्रै रहेर काम गर्ने संस्कार कमजोर देखिएको छ भने अर्कोतर्फ राजनीतिक आकांक्षा र प्रशासनिक जिम्मेवारीबीचको द्वन्द्व सतहमा आएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट