‘कख’ लेख्न नसक्दा ५ वर्षीय बालकमाथि निर्घात कुटपिट, भिडियो भाइरल भएपछि शिक्षिका पक्राउ

विराटनगर— बुधबार दिनभर सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल बन्यो। भिडियोमा एक शिक्षिकाले सानो बालकका दुवै हात समातेर लगातार झापड हानिरहेको दृश्य देखिएपछि सर्वत्र आक्रोश फैलियो।

धेरैले ति शिक्षिकामाथि तत्काल कारबाहीको माग गरे। सुरुमा घटनास्थलबारे अन्योल रहे पनि पछि भिडियो पाँचथरको रहेको पुष्टि भयो। त्यसपछि घटनाले झनै गम्भीर मोड लियो। फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सुमित्रा सेन्दाङ नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार गत बुधबार एलकेजीमा अध्ययनरत ५ वर्षीय बालकलाई ‘कख’ र ‘वान टु’ लेख्न नसकेको भन्दै शिक्षिका नेम्वाङले निर्घात कुटपिट गरेकी थिइन्।

कक्षाकोठाभित्र भएको उक्त घटनाको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको थियो। भिडियोमा शिक्षिकाले बालकलाई नियन्त्रणमा लिएर लगातार झापड हानिरहेको दृश्यले धेरैलाई स्तब्ध बनाएको थियो।

घटनापछि बालक बिरामी परेपछि अभिभावकले उनलाई अस्पताल पु¥याएका थिए। कपडा फुकालेर हेर्दा बालकको ढाडभरि १८ वटा निलडाम भेटिएको बताइएको छ। गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचार गराइएका ती बालकको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको जनाइएको छ। चिकित्सकहरूका अनुसार शरीरमा गम्भीर चोटका संकेत देखिएको थियो।

घटना सार्वजनिक भएसँगै शिक्षिकालाई पक्राउ गर्न व्यापक दबाब सिर्जना भएको थियो। सामाजिक सञ्जालमा धेरैले बालमनोविज्ञान नबुझेको भन्दै शिक्षिकाको आलोचना गरेका थिए भने विद्यालयभित्र बालबालिकामाथि हुने दुव्र्यवहारबारे गम्भीर प्रश्न उठाएका थिए।

यता विद्यालय प्रशासनले भने घटनापछि शिक्षिका नेम्वाङलाई निलम्बन गरिएको जनाएको छ। विद्यालयले घटनाबारे आन्तरिक छानबिनसमेत सुरु गरेको बताएको छ। तर अभिभावक र स्थानीयवासीले केवल निलम्बन पर्याप्त नभएको भन्दै कानुनी रूपमा कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

शिक्षण संस्था ज्ञान र संस्कार दिने थलो मानिने भए पनि पाँचथरको यो घटनाले विद्यालयभित्र बालबालिका कति असुरक्षित छन् भन्ने प्रश्न फेरि उठाएको छ। सामान्य लेखाइ नसिकेको निहुँमा ५ वर्षीय बालकमाथि गरिएको क्रूर व्यवहारले शिक्षा प्रणालीभित्रको कठोर मानसिकता र बालअधिकारप्रतिको संवेदनहीनता उजागर गरेको भन्दै सामाजिक स्तरमै बहस सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णका अनुसार शिक्षिका नेम्वाङलाई शनिबार पक्राउ गरिएको हो। उनलाई आइतबार जिल्ला अदालत पाँचथरमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान अघि बढाइने तयारी भइरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट