कानुन बनाउने सांसदको बुलेट बाईक स्टन्ट ! आलोचना वढेपछि बब्लु गुप्ताले स्वीकारे गल्ती, मागे माफी
लहान– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्ताले चलिरहेको बुलेट मोटरसाइकलमा स्टण्ट गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
हेल्मेट नलगाई जोखिमपूर्ण शैलीमा यात्रा गरेको दृश्य सार्वजनिक भएसँगै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि व्यापक आलोचना भएको छ। विवाद बढेपछि गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल चलाइरहेको देखिन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षासम्बन्धी आधारभूत नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन्।
उनीहरूले जनप्रतिनिधिले कानुन पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्नेमा उल्टै जोखिमपूर्ण व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेका छन्। घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले सम्बन्धित मोटरसाइकललाई जरिवाना प्रक्रियाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन्।
‘बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु,’ उनले भने, ‘हामी एउटा कार्यक्रममा सहभागी हुन भसुवातर्फ जाँदै थियौं। यसबाहेक अरू कुनै विशेष कुरा छैन।’
पछि उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक स्पष्टीकरण दिएका छन्। भाइरल भिडियोबारे उल्लेख गर्दै उनले बाल्यकाल बिताएको स्थानमा पुग्दा पुराना सम्झना ताजा भएको र रमाइलोको क्षणमा मजाककै रूपमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन्।
‘त्यो क्षणमा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा अहिले आफैं महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले लेखेका छन्।
यसअघि सार्वजनिक भएको तस्बिर र भिडियोको समय तथा स्थानबारे विभिन्न चर्चा भए पनि गुप्ताले त्यसलाई आफ्नो गतिविधि भएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमा मागेका छन्। साथै, ट्राफिक नियम उल्लंघनसम्बन्धी कानुनी प्रक्रियामा आफूले सहयोग गर्ने र जरिवाना तिर्न तयार रहेको स्पष्ट पारेका छन्।
हालसम्म सम्बन्धित ट्राफिक प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी औपचारिक विवरण सार्वजनिक गरेको छैन। तर सांसद गुप्ताको स्वीकारोक्ति र सार्वजनिक माफीपछि यो घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण, सडक सुरक्षा र कानुन पालना सम्बन्धी जिम्मेवारीबारे नयाँ बहस जन्माएको छ।
यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले एक हात छोडेर मोटरसाईकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले जरिवाना काटेश फेसवुक पेजमा रसिद समेत सार्वजनिक गरेको थियो।


