विराटनगर विमानस्थलमा ६ लाख ६५ हजारसहित सरकारका उपसचिव नै पक्राउ, ५ दिनपछि मात्रै घट्ना सार्वजनिक

विराटनगर– राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख (उपसचिव) मिक्मार तामाङ स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। गत साउन ३ गते बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा पक्राउ परेका तामाङको घटना मोरङ प्रहरीले पाँच दिनसम्म सार्वजनिक नगरी राखेको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ विराटनगरबाट काठमाडौं उड्न लागेको बेला विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्। उनले बोकेको कालो झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो।

प्रहरीका अनुसार तामाङले उक्त रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेपछि विमानस्थल सुरक्षामा खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउपछिको अनुसन्धान जारी रहेको जानकारी दिँदै प्रारम्भिक चरणमा तामाङले आफ्नो वास्तविक परिचयसमेत नखुलाएको बताए। ‘सुरुमा उहाँले आफ्नो पूरा परिचय लुकाउनुभयो। अनुसन्धान अघि बढाउँदै जाँदा उहाँ उपसचिव तहको कर्मचारी रहेको खुलेको हो। बरामद रकमको स्रोत पुष्टि गर्न सक्नुभएन। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ,’ एसपी कटवालले भने।

उनका अनुसार तामाङमाथि स्रोत नखुलेको सम्पत्तिसम्बन्धी कसुरको कोणबाट अनुसन्धान भइरहेको छ। अनुसन्धान अन्तिम चरणमा पुगेको र प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाले अर्को प्रश्न पनि उठाएको छ। सामान्यतया स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका व्यक्तिबारे जिल्ला प्रहरीले तत्काल पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमार्फत जानकारी दिने अभ्यास रहे पनि यस घटनामा पक्राउ भएको पाँच दिनपछि मात्रै औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको हो।

प्रहरीले घटना ढिलो सार्वजनिक गर्नुको कारणबारे औपचारिक स्पष्टीकरण दिएको छैन। यही कारण अनुसन्धान प्रक्रियाको पारदर्शिता र सूचना प्रवाहबारे प्रश्न उठ्न थालेका छन्। यसैबीच, सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आर्थिक वर्षको अन्त्यतिर भएका भुक्तानी तथा योजनासँग सम्बन्धित कमिसन रकम काठमाडौं लैजान लागेको हुन सक्ने अनुमान सार्वजनिक भएका छन्।

यद्यपि, यस्ता दाबीहरूलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण वा अनुसन्धान निष्कर्ष हालसम्म सार्वजनिक भएको छैन। प्रहरीले पनि यसबारे कुनै औपचारिक पुष्टि गरेको छैन। त्यस्तै, पक्राउ परेका तामाङले उक्त रकम आफन्तको भएको र आफूले मात्र बोकेर लैजान लागेको भन्ने प्रारम्भिक जानकारी दिएको प्रहरी स्रोतले जनाएको छ।

तर, प्रहरीले उक्त दाबीको सत्यता पुष्टि हुन बाँकी रहेको र रकमको वास्तविक स्रोत तथा प्रयोजनबारे अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ। प्रहरीका अनुसार बरामद रकमको स्रोत, उद्देश्य र त्यससँग सम्बन्धित सबै पक्षको अनुसन्धानपछि मात्रै थप कानुनी प्रक्रिया अगाडि बढाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट