‘कक्रोच जनता पार्टी’को उडानपछि भारतमा डिजिटल हलचलः भाजपा भन्दा लोकप्रिय बनेको अभियान किन भयो टार्गेट?

काठमाडौँ— भारतमा केही दिनअघिसम्म केवल व्यंग्यात्मक अनलाइन अभियानका रूपमा हेरिएको ‘कक्रोच जनता पार्टी’ अहिले सिंगो भारतीय राजनीतिक वृत्तमै बहसको विषय बनेको छ। सामाजिक सञ्जालमार्फत सत्ताविरुद्ध तीखा व्यंग्य, मिम र जेन–जी असन्तुष्टिलाई संगठित गर्दै आएको यो अभियानले लोकप्रियताको चरम उचाइ छोइरहेका बेला यसको आधिकारिक इन्स्टाग्राम पेज ह्याक हुनु र एक्स अकाउन्ट भारतमै रोक लगाइएकोछ।

‘कक्रोच जनता पार्टी’ अर्थात् सीजेपीको आधिकारिक इन्स्टाग्राम पेजमा २ करोड १७ लाखभन्दा बढी फलोअर्स पुगेका थिए। यो संख्या भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको आधिकारिक इन्स्टाग्राम फलोअर्सभन्दा दोब्बरभन्दा बढी हो। व्यंग्य, असन्तुष्टि र डिजिटल विद्रोह मिसिएको यही अभियानको तीव्र लोकप्रियतापछि अचानक यसको अकाउन्टहरू बन्द, रोक र ह्याक हुन थालेपछि भारतमा अभिव्यक्ति स्वतन्त्रता, डिजिटल नियन्त्रण र राजनीतिक असहिष्णुतामाथि बहस चर्किएको छ।

सीजेपीका संस्थापक अभिजित दिपकेले आफ्नो एक्स अकाउन्टमार्फत पार्टीको कुनै पनि सामाजिक सञ्जालमा पहुँच नरहेको जानकारी सार्वजनिक गरेका छन्। उनले अब आउने कुनै पनि पोस्टलाई पार्टीको आधिकारिक धारणा नमान्न आग्रह गर्दै मुख्य इन्स्टाग्राम पेजसँगै आफ्नो व्यक्तिगत अकाउन्टसमेत ह्याक भएको बताएका छन्। त्यति मात्र होइन, उनको एक्स अकाउन्टमाथि भारतमा रोक लगाइएको छ भने ब्याकअप अकाउन्टसमेत हटाइएको दाबी गरिएको छ।

यो घटनाले भारतीय डिजिटल राजनीतिमा एउटा गम्भीर प्रश्न उठाएको छ—के सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा उठाइएको राजनीतिक असन्तुष्टि अहिले सत्ताका लागि चुनौती बन्न थालेको हो ?

सीजेपीको उदय आफैंमा असामान्य राजनीतिक कथा हो। केही दिनअघि मात्र अनलाइन व्यंग्य आन्दोलनका रूपमा सुरु भएको यो अभियान अहिले बेरोजगारी, प्रश्नपत्र चुहावट, संस्थागत जवाफदेहिता, राजनीतिक भाष्य र युवामाथिको अपमानजनक टिप्पणीविरुद्धको डिजिटल प्रतिरोधमा बदलिएको छ। हास्य, मिम र राजनीतिक कटाक्ष मिसाएर जेन–जी पुस्ताले निर्माण गरेको यो अभियानले छोटो समयमै करोडौँ युवाको ध्यान खिच्न सफल भयो।

‘कक्रोच जनता पार्टी’ नाम आफैंमा भारतीय प्रधानन्यायाधीश सुर्यकान्तसँग जोडिएको विवादास्पद अभिव्यक्तिमाथिको व्यंग्यात्मक जवाफ मानिन्छ। केही बेरोजगार युवा र अनलाइन अभियन्तालाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरिएको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आक्रोश फैलिएको थियो। पछि प्रधानन्यायाधीशले आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरे पनि त्यही प्रसंगलाई लिएर जेन–जी पुस्ताले व्यंग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ अभियान सुरु गरेका थिए।

यसका संस्थापक अभिजीत दीपके हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा जनसम्पर्क अध्ययन गरिरहेका ३० वर्षीय विद्यार्थी हुन्। उनी यसअघि आम आदमी पार्टीको सोसल मिडिया टिमसँग स्वयंसेवकका रूपमा आबद्ध रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उनले सुरु गरेको यो अभियानले अहिले भारतमा डिजिटल प्रतिरोधको नयाँ रूप लिएको विश्लेषण हुन थालेको छ।

सीजेपीले आफूलाई ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’ भनेर परिभाषित गरेको छ। भारतमा भइरहेको नीट, सीबीएसईजस्ता परीक्षामा प्रश्नपत्र चुहावट, युवाको बेरोजगारी, राजनीतिक अवसरवाद र संस्थागत कमजोरीमाथि उसले लगातार व्यंग्यात्मक तर तीखा सामग्री सार्वजनिक गर्दै आएका थिए। यही शैलीले जेन–जी पुस्तालाई तीव्र रूपमा आकर्षित ग¥यो।

पार्टीको पाँचबुँदे घोषणापत्रसमेत सार्वजनिक भइसकेको छ। जसमा अवकाशपछि प्रधानन्यायाधीशलाई राज्यसभा सदस्य नबनाउने, मतदाता सूचीबाट वैध मतदाता हटाए प्रमुख निर्वाचन आयुक्तमाथि कानुनी कारबाही गर्ने, संसद् र मन्त्रिपरिषद्मा ५० प्रतिशत महिला आरक्षण सुनिश्चित गर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने र दल बदल्ने सांसदलाई २० वर्ष चुनाव लड्न रोक लगाउनेजस्ता माग समावेश छन्।

सीजेपीको प्रभाव यति तीव्र देखियो कि मह्पा मैत्रा र कीर्ति आजाद जस्ता चर्चित भारतीय सांसदहरूले समेत ठट्टाकै शैलीमा पार्टीमा आबद्ध हुन चाहेको प्रतिक्रिया दिएका थिए। कीर्ति आजादले ‘पार्टीमा सहभागी हुन के योग्यता चाहिन्छ ?’ भनेर सोध्दा सीजेपीले ‘१९८३ को विश्वकप जित्नु नै काफी छ’ भनेर दिएको जवाफ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

तर, यही लोकप्रियतासँगै डिजिटल दमनको बहस पनि चर्किएको छ। केही घण्टाअघि मात्रै इन्स्टाग्राममा भाजपा भन्दा बढी फलोअर्स पुगेको अभियानको एक्स अकाउन्ट भारतमै रोक लगाइनु र त्यसलगत्तै इन्स्टाग्राम पेज ह्याक हुनु संयोग मात्र नभएको धेरैको टिप्पणी छ। यद्यपि यसबारे भारतीय सरकार वा सम्बन्धित प्लेटफर्महरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सीजेपी अहिले केवल व्यंग्यात्मक अभियानमा सीमित छैन। यसले भारतमा जेन–जी पुस्ताको राजनीतिक निराशा, संस्थाप्रतिको अविश्वास र डिजिटल प्रतिरोधको मनोविज्ञान उजागर गरेको छ। विशेषगरी बेरोजगारी, परीक्षा प्रणालीको विश्वसनीयता, राजनीतिक भाष्य र अभिव्यक्ति स्वतन्त्रताको प्रश्नमा युवा पुस्ताले परम्परागत राजनीतिक दलभन्दा फरक शैली खोजिरहेको संकेत यस अभियानले दिएको विश्लेषण भइरहेको छ।

तर, आलोचकहरू भने यसलाई केवल ‘मिम–पोलिटिक्स’ भन्दै खारेज गर्ने प्रयास पनि गरिरहेका छन्। उनीहरूका अनुसार डिजिटल व्यंग्य र ट्रेन्डले वास्तविक राजनीतिक विकल्प निर्माण गर्न सक्दैन। तर समर्थकहरू भन्छन—भारतको परम्परागत राजनीतिक भाष्यले नसकेको काम अहिले एउटा व्यंग्यात्मक अभियानले गरिरहेको छ, जसले युवाको असन्तुष्टिलाई आवाज दिएको छ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले भने आफ्नो आन्दोलन नेपाल वा बंगलादेशजस्तो सडक विद्रोहमा नबदलिने स्पष्ट पारेका छन्। उनका अनुसार भारतीय जेन–जी पुस्ता राजनीतिक रूपमा सचेत छ र लोकतान्त्रिक तथा शान्तिपूर्ण ढंगले असहमति राख्न जान्दछ।

तर, अहिले उठिरहेको सबैभन्दा ठूलो प्रश्न भने यही हो—भारतमा एउटा व्यंग्यात्मक डिजिटल अभियान यति छिटो सत्ताका लागि असहज किन बन्यो ? र, करोडौँ फलोअर्स भएको यस्तो अभियानमाथि लगातार रोक, हटाउने र ह्याक हुने घटनाले वास्तवमै अभिव्यक्ति स्वतन्त्रताको सीमामाथि नयाँ बहस सुरु गरेको हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट