सप्तरीः भोजमा नबोलाएको रिसले ससुराली खलकलाई इटा प्रहार गरी घाईते बनाएर भागेका युवक पक्राउ

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विवाह भोजमा नबोलाएको विषयलाई लिएर भएको विवादमा आफन्तलाई नै कुटपिट गरी अंगभंग बनाएर भागेका युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६ निवासी २७ वर्षीय मोतिलाल सदा छन्। उनीमाथि नातामा काका ससुरा पर्ने व्यक्तिको घरमा आयोजित विवाह भोजको विषयलाई लिएर विवाद गरेपछि एक व्यक्तिमाथि इटाले आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप छ।

प्रहरीका अनुसार वैशाख ६ गते डाक्नेश्वरी नगरपालिका–६ मा विश्वनाथ सदाको छोराको विवाह भोज आयोजना गरिएको थियो। सोही भोजमा आफूलाई नबोलाइएको भन्दै मोतिलाल सदा आक्रोशित बनेका थिए। सामान्य असन्तुष्टिबाट सुरु भएको विवाद केहीबेरमै उग्र बनेपछि उनले पीडितमाथि इटाले शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप छ।

घटनामा पीडित गम्भीर घाइते भएका थिए भने घटनापछि मोतिलाल फरार भएका थिए। प्रहरीले उनीविरुद्ध खोजतलास अभियान तीव्र बनाएपछि अन्ततः आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित पक्षका तर्फबाट काजल देवी सदाले दिएको जाहेरीका आधारमा कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि प्रतिवादीलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप अनुमति लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सप्तरी प्रहरीले पछिल्लो समय व्यक्तिगत रिसइबी, पारिवारिक विवाद र सामान्य झैझगडासमेत हिंसात्मक घटनामा रूपान्तरण हुन थालेकाले यस्ता गतिविधिमाथि निगरानी कडा बनाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट