दुर्व्यवहारपछि कटारी अस्पताल छाड्दै डा. साहः ‘अस्पताल बनाउने अभियान चलाएँ, ज्यान जोगाएर हिँड्नुपर्यो’
गाईघाट— उदयपुरको कटारी अस्पतालको सेवा विस्तार, विशेषज्ञ सेवा सञ्चालन र आधारभूत अस्पतालको संरचना निर्माणमा नेतृत्वदायी भूमिका खेलेका डा. गौरव साहले आफूविरुद्ध भएको दुर्व्यवहार र पछिल्लो घटनाक्रमप्रति गहिरो असन्तुष्टि जनाउँदै अस्पताल छोड्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भावुक सन्देशमा उनले संघर्ष, उपलब्धि, स्थानीय समुदायसँगको सम्बन्ध र अन्ततः अपमानित अवस्थामै बाहिरिनुपरेको पीडा एकसाथ व्यक्त गरेका छन्। २०७३ फागुन २१ गते कटारी अस्पतालमा पहिलोपटक कार्यभार सम्हाल्दा अस्पतालको अवस्था अत्यन्त कमजोर रहेको डा. साहले स्मरण गरेका छन्।
नयाँ भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन नसक्दा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। सीमित सेवा, न्यून जनशक्ति र अव्यवस्थित संरचनाबीच आफूले स्थानीय समुदाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरेर अस्पताललाई विस्तारतर्फ अघि बढाएको उनले बताएका छन्।
उनका अनुसार अस्पतालमा बिरामी भर्ना सेवा सञ्चालन, सशुल्क फार्मेसी सेवा विस्तार तथा सिजेरियन शल्यक्रिया अर्थात् ‘सी–सेक्सन’ सेवा सुरु गर्नु त्यसबेलाका महत्वपूर्ण उपलब्धिमध्ये थिए। तत्कालीन मेयर ज्ञानेन्द्र श्रेष्ठसँगको सहकार्यमा अस्पताललाई आधारभूत अस्पतालको स्वरूप दिन थालिएको र त्यसले कटारी क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आशा जगाएको उनको दाबी छ।
अध्ययन बिदापछि पुनः कटारी फर्किएको उल्लेख गर्दै उनले हालका मेयर राजेशचन्द्र श्रेष्ठको आग्रहमा अस्पताल सुधार अभियानलाई निरन्तरता दिएको बताएका छन्। प्रदेश सरकार मातहत अस्पताल ल्याउने प्रक्रियामा राजनीतिक दल, स्थानीय सरोकारवाला र विशेषगरी रामकुमार खत्रीलगायतको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ।
डा. साहका अनुसार अहिले कटारी अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सकसहित १३ देखि १४ जनासम्म चिकित्सकले सेवा दिइरहेका छन्। उनले आफ्नो कार्यकालको अन्तिम उपलब्धिका रूपमा ब्लड बैंक स्थापनाको प्रक्रिया अघि बढेको र त्यसको ठेक्का समेत निस्किसकेको जानकारी दिएका छन्।
उनले आफ्नो व्यक्तिगत जीवनसमेत कटारीसँग गाँसिएको उल्लेख गरेका छन्। आफ्नै छोराको जन्म आफूले सञ्चालनमा ल्याएको अप्रेसन कक्षमा गराएको र छोरीलाई कटारीकै सामुदायिक विद्यालयमा पढाउने अवसर पाएको स्मरण गर्दै उनले कटारीलाई केवल कार्यस्थल नभई ‘घर’ को रूपमा मानेको बताएका छन्।
तर, पछिल्लो घटनाले आफूलाई गहिरो मानसिक आघात दिएको उनको भनाइ छ। यद्यपि उनले घटनाको स्पष्ट विवरण खुलाएका छैनन्, तर आफूलाई असुरक्षित महसुस भएको संकेत गर्दै ‘स–सम्मान विदाइ चाहन्थें, तर आज ज्यान जोगाउने गरी हिँड्नुपर्यो’ भन्ने वाक्य लेखेका छन्। उनले निष्पक्ष छानबिनको माग गर्दै यदि आफ्नो गल्ती प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन्।
कटारी अस्पतालमा स्वास्थ्य सेवा विस्तारको अनुहारका रूपमा चिनिएका डा. साहको बहिर्गमन घोषणाले स्थानीय तहमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। कतिपयले अस्पताल सुधारमा उनको योगदानको खुलेर प्रशंसा गरेका छन् भने केहीले पछिल्लो विवादबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
कटारी क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, शल्यक्रिया सेवा सञ्चालन र संस्थागत सुधारको अभियानसँग जोडिएका डा. साहको बहिर्गमनले अब अस्पतालको भावी नेतृत्व, सेवा निरन्तरता र स्थानीय स्वास्थ्य व्यवस्थापनमाथि नयाँ प्रश्न खडा गरेको छ।

