स्कुल बस दुर्घटनापछि कटारी अस्पतालमा विस्फोट : शव व्यवस्थापन विवादले डाक्टर भाग्न बाध्य, सामाजिक सञ्जाल दुई धारमा
गाईघाट— उदयपुरको कटारीमा एउटा स्कुल बस दुर्घटनाबाट सुरु भएको घटना अहिले अस्पताल व्यवस्थापन, चिकित्सकको सुरक्षादेखि सामाजिक सञ्जालको तीव्र ध्रुवीकरणसम्म पुगेको छ। सह–चालकको मृत्यु, शव व्यवस्थापनमा देखिएको समस्या, अस्पतालभित्रको तनाव, चिकित्सकमाथि दुव्र्यवहारको आरोप र त्यसपछि सुरु भएको सामाजिक तथा राजनीतिक आरोप–प्रत्यारोपले कटारी यतिबेला तातिएको छ।
घटना सोमबार बिहान कटारी नगरपालिका–२ गिद्धबार क्षेत्रमा भएको हो। सौगात एकेडेमी बोर्डिङ स्कुल को लुप्र ०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गर्दा गुडिरहेको बसबाट सह–चालक कटारी–२ निवासी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरे।
मृतकको शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएपछि शव संरक्षणका लागि प्रयोग हुने कुलिङ प्रणाली सञ्चालनमा नरहेको पाइएको थियो। अत्यधिक गर्मीका बीच शव लामो समयसम्म व्यवस्थापन हुन नसकेपछि आफन्त र स्थानीय आक्रोशित बने। आफन्तको आरोप थियो— बिहानै अस्पताल ल्याइएको शव घण्टौँसम्म बेवास्ता गरियो, उचित व्यवस्थापन गरिएन र शवबाट गन्ध आउन थालेपछि मात्रै अस्पताल प्रशासन सक्रिय देखियो।
तनाव बढ्दै जाँदा केही स्थानीयले पोस्टमार्टम कक्षबाट शव निकालेर आकस्मिक कक्ष अगाडि राखे। त्यसपछि अस्पताल परिसरमा नाराबाजी, भीडभाड र तीव्र विवादको अवस्था सिर्जना भएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरब साहमाथि हुल हुज्जत भयो। राजिनामा मागियो। दुर्व्यवहार भयो, जसको भिडिओ सामाजिक सञ्जालमा छ्यासछ्यास छ। त्यसपछि डा. साहले लामो फेसवुक स्ट्याटस लेख्दै आफू असुरक्षित बनेपछि अस्पताल छोड्न बाध्य भएको बताए।
उनले सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भीडलाई उक्साएर आफूविरुद्ध वातावरण बनाएको आरोप लगाएका छन्। उनले विशेष रूपमा रामबाबु बस्नेत, राजकुमार थापा र जिवनाथ दाहालको नाम उल्लेख गर्दै प्रश्न उठाएका छन्।
डा. साहले लेखेका छन्, ‘एउटा फ्रिजमा प्राविधिक समस्या आउँदा भिडलाई उत्तेजित बनाइयो, सामाजिक सञ्जालमा एकतर्फी प्रचार गरियो र मलाई ज्यान जोगाएर भाग्न बाध्य बनाइयो। भोलि उपचारकै क्रममा बिरामीको मृत्यु भए के गर्नुहुन्छ?’
उनले घटनालाई योजनाबद्ध रूपमा अस्पतालविरुद्ध प्रयोग गरिएको दाबी पनि गरेका छन्। केही समूहले अस्पताल सुधार भएको स्वीकार्न नसकी राजनीतिक पूर्वाग्रहबाट वातावरण बिगारेको आरोप उनले लगाएका छन्।
घटनापछि कटारी अस्पतालले औपचारिक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोध गरेको छ। अस्पतालले शव राख्ने फ्रिज नयाँ भए पनि प्राविधिक समस्या आएको जनाएको छ। विज्ञप्तिअनुसार शव प्रहरीको जिम्मामा पोस्टमार्टम कक्षमा राखिएको अवस्थामा केही व्यक्तिले जबर्जस्ती शव निकालेर आकस्मिक सेवा कक्ष अगाडि ल्याएका थिए। अस्पतालले डा. गौरब साहमाथि गालीगलौज, धम्की तथा दुव्र्यवहार भएको दाबी गर्दै स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
यता, घटनापछि सामाजिक सञ्जाल दुई धारमा विभाजित भएको छ। एक पक्षले अस्पताल प्रशासनको संवेदनहीनता र शव व्यवस्थापनको कमजोरीमाथि प्रश्न उठाइरहेको छ भने अर्को पक्षले चिकित्सकमाथिको भीड मनोविज्ञान र दुव्र्यवहारको विरोध गरिरहेको छ।
रामबाबु बस्नेतले अस्पताल प्रशासनले मृतकप्रति सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका छन्। उनले डा. साहको कार्यशैलीलाई ‘अमानवीय’ र ‘अहंकारी’ भन्दै आलोचना गरेका छन्। उनको दाबी छ— शव घण्टौँसम्म वार्डमा राखियो, परिवारको पीडालाई बेवास्ता गरियो र विरोध गरेपछि चिकित्सकले गैरजिम्मेवार अभिव्यक्ति दिए।
यता जिवनाथ दाहालले पनि अस्पतालमा पोस्टमार्टम र शव संरक्षणसम्बन्धी आधारभूत संरचना कमजोर रहेको बताएका छन्। उनले यो घटना केवल प्राविधिक समस्या नभई स्वास्थ्य संस्थाको जिम्मेवारी र संवेदनशीलतासँग जोडिएको विषय भएको टिप्पणी गरेका छन्।
तर अर्कोतर्फ धेरैले चिकित्सकमाथि भएको व्यवहारको विरोध गरेका छन्। विनोद पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन— ‘यदि डाक्टर दोषी थिए भने कानुनी बाटो अपनाउन सकिन्थ्यो। तर भीड बनाएर चिकित्सकमाथि आक्रमण गर्नु कुनै हालतमा स्वीकार्य हुन सक्दैन।’
मुना कटवालले डा. गौरब साहको टोलीले विगतमा धेरै बिरामीको ज्यान बचाएको अनुभव सुनाउँदै उनीमाथि गरिएको व्यवहारलाई ‘कटारीको दुर्भाग्य’ भनेकी छिन्। यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ— सीमित स्रोतसाधनमा चलिरहेका सरकारी अस्पतालहरूमा सेवा, पूर्वाधार र सुरक्षा व्यवस्थाको वास्तविक अवस्था कस्तो छ?
एकातर्फ शव संरक्षणजस्तो आधारभूत व्यवस्थामा कमजोरी देखिएको आरोप छ भने अर्कोतर्फ चिकित्सकहरूले असुरक्षा महसुस गरेर अस्पताल छोड्नुपर्ने अवस्था सिर्जना भएको छ। कटारीको यो घटना अब केवल एउटा दुर्घटना वा अस्पताल विवादमा सीमित छैन। यसले स्वास्थ्य संस्थाप्रतिको जनविश्वास, स्थानीय राजनीतिक प्रभाव, सामाजिक सञ्जालको उत्तेजना र सार्वजनिक संस्थाभित्रको संरचनागत कमजोरीलाई एकैपटक सतहमा ल्याइदिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।


