गेलालको ‘फेसवुके विकास’ राजनीतिः दाबी धेरै, उपलब्धि खै ?
राजविराज– उदयपुर–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलाल पछिल्लो समय सामाजिक सञ्जालमार्फत विकास योजनाका सपना देखाउने र बजेट सम्बन्धी सार्वजनिक अभिव्यक्तिका कारण निरन्तर चर्चामा छन्।
स्थानीय क्षेत्रमा देखिएका समस्या भिडियोमार्फत देखाउँदै ‘फिल्डमा सक्रिय जनप्रतिनिधि’को छवि बनाउन प्रयासरत गेलाल अहिले भने आफ्नै दाबी र सार्वजनिक अभिव्यक्तिका कारण आलोचनाको घेरामा परेका छन्।
सांसद गेलालले पछिल्ला महिनामा नदी कटान प्रभावित क्षेत्र, पुलविहीन खोला तथा जीर्ण संरचनाहरूको निरीक्षण गर्दै गरेको भिडियो बनाउने, लाइभ गर्ने र त्यसैलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थिए। विकासप्रति आफू प्रतिबद्ध रहेको सन्देश दिन खोजिरहेका उनी ‘ठोस काम गरेर नागरिकसामु परिणाम देखाउने’ लक्ष्यसहित सक्रिय रहेको दाबी गर्छन्।
तर यही सक्रियताबीच उनले इरानमा बन्धक बनेका अमृत झा रिहा भएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना गलत सावित भएपछि उनी पहिलो पटक गम्भीर आलोचनामा परेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालको हवाला दिँदै पोस्ट गरिएको उक्त जानकारी पछि आधिकारिक रूपमा असत्य पुष्टि भएपछि उनको विश्वसनीयतामाथि प्रश्न उठेको थियो।
त्यसपछि पनि गेलालले आफ्नो पारा र फेसवुके विकास राजनीति निरन्तर अघि बढाइरहे। बजेट भाषणअघि विभिन्न मन्त्रालय पुगेर ‘बजेटका लागि सक्रिय रहेको’ देखाउने प्रयास गरे। उनको शैली प्रायः समाजसेवी ढाँचामा देखिने गरेको छ, जसमा आफूलाई ‘पुराना नेताभन्दा फरक’ र ‘जनताप्रति पूर्ण समर्पित प्रतिनिधि’का रूपमा प्रस्तुत गर्ने प्रयास देखिन्छ।
तर यही शैलीलाई लिएर आलोचकहरूले यसलाई ‘भिडियो केन्द्रित राजनीति’ भन्दै प्रश्न उठाउन थालेका छन्। खास गरी, उनले उदयपुर–१ अन्तर्गतका केही नदी तथा खोलामा पुल निर्माणका लागि बजेट सुनिश्चित भएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिए। र फत्तेपुर गाईघाट सडक निर्माणका लागि काम गर्ने भन्दै टिकटकमा बताएको विषयमा उनको आलोचना भईरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३÷८४ को बजेट प्रस्तुत गर्दा उनले दाबी गरेका योजनाहरू समावेश नभएको सार्वजनिक भएपछि उनको दाबीमाथि पुनः प्रश्न उठ्यो।
यसपछि उनले आफ्नो लेटरप्याड प्रयोग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ०८२ चैत ३० गते बुझाएको भनिएको ७७ करोड रुपैयाँ बराबरको मागपत्र सार्वजनिक गरे। त्यससँगै सगरमाथा विमानस्थल अध्ययनका लागि १ करोड र बेलका क्षेत्र पर्यटन प्रवद्र्धन तथा अध्ययनका लागि ५ करोड रुपैयाँ विनियोजन भएको दाबी पनि उनले गरे।
त्यसैमा उनले आलोचकहरूलाई लक्षित गर्दै कठोर टिप्पणीसमेत गरेका थिए। आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनले लेखेका छन्, ‘हामी काम गर्न आएका हौँ, बिकासवादी नेताको ट्याग झुण्ड्याएर बिचौलियासँग मिलेर लुट्न होइन।’ उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र मन्त्री खडक राज पौडेल (गणेश) लाई धन्यवाद समेत दिएका थिए।
तर यही दाबीपछि उनी थप आलोचनाको केन्द्रमा पुगे। सामाजिक सञ्जाल प्रयोगकर्ता ध्रुव कोइरालाले सांसदको मागपत्र सार्वजनिक गर्दै योजना माग गर्नु र बजेट सुनिश्चित हुनु फरक विषय भएको टिप्पणी गरेका छन्। उनका अनुसार, बजेट विनियोजनको आधिकारिक निर्णय नभएसम्म योजनालाई ‘सुनिश्चित’ भए जसरी प्रस्तुत गर्नु जनतालाई भ्रमित गर्नु हो।
त्यस्तै गम्भीर खड्काले सगरमाथा विमानस्थल अध्ययनका लागि छुट्याइएको रकमको औचित्यमाथि प्रश्न उठाउँदै उक्त योजना व्यावहारिक नभएको टिप्पणी गरेका छन्। उनले जिल्ला–जिल्लामा विमानस्थल निर्माणभन्दा जनजीवन सुधार र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
युनिक चौधरीले सांसद गेलालमाथि चुनावी वाचा र सामाजिक सञ्जालमा गरिएका घोषणाबीच अन्तर रहेको आरोप लगाएका छन्। उनले टिकटक लाइभमा गरिएको खोला पुल तथा सडक विकासका दाबीहरू स्मरण गराउँदै ती आश्वासन मात्र थिए कि भन्ने प्रश्न उठाएका छन्।
त्यस्तै राज भोला एफसीले मोतिगडा–फत्तेपुर क्षेत्रका खोलानालामा पुल निर्माणको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
यसरी हेर्दा सांसद पारसमणि गेलालको सक्रियता, सामाजिक सञ्जालमा गरिएको प्रचार र बजेटसम्बन्धी दाबीहरू अहिले उदयपुरको राजनीतिक बहसको केन्द्र बनेका छन्। एकातर्फ उनी विकासप्रति प्रतिबद्ध जनप्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेका छन् भने अर्कोतर्फ उनका दाबी, अभिव्यक्ति र सार्वजनिक पोस्टहरूले प्रश्नहरू पनि उब्जाइरहेका छन्।
स्थानीय स्तरमा भने बहस चर्किएको छ—के सांसदको भूमिका परिणाममुखी विकासमा केन्द्रित छ, वा सामाजिक सञ्जालमार्फत निर्माण गरिने ‘भर्चुअल उपलब्धि’मा सीमित भइरहेको छ ?

