भिडिओ खिच्दै मोटरसाइकल चलाउँदा लडे हर्क साम्पाङ, चोटपछि भने– ‘देशलाई चोट दिएको छैन’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलकातर्फ जाँदै गरेका साम्पाङ आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर लड्दा सामान्य घाइते भएका हुन्।

घटनाबारे प्राप्त जानकारीअनुसार साम्पाङ यात्रा गरिरहेकै क्रममा एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिचिरहेका थिए। सोही क्रममा सन्तुलन गुमेपछि मोटरसाइकल सडकमा लडेको श्रम संस्कृति पार्टीका नेताहरूले बताएका छन्।

दुर्घटनापछि पनि साम्पाङले आफ्नो शैली परिवर्तन गरेनन्। लडेपछि उठेर उनले पुनः भिडिओ खिच्दै आफ्नो हातमा लागेको चोट देखाएका थिए। सार्वजनिक भएको भिडिओमा उनको हातको छाला राम्ररी ताछिएको देखिन्छ भने लगाएको सुरुवालसमेत च्यातिएको अवस्थामा देखिएको छ। यद्यपि दुर्घटना गम्भीर नभएकाले उनी तत्कालै सामान्य अवस्थामा फर्किएका थिए।

दुर्घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले आफ्नै शैलीमा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलि अलि चोट लाग्नु नि पर्छ, तर देशलाई चोट दिएको छैन मैले। धेरै नकराउनु !’

साम्पाङको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया जन्माएको छ। उनका समर्थकहरूले यसलाई उनको सहज र आत्मविश्वासी स्वभावको रूपमा लिएका छन् भने केहीले सवारी चलाउँदा मोबाइल प्रयोग गर्नु आफैंमा जोखिमपूर्ण र गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्।

दुर्घटनापछि समर्थक तथा शुभेच्छुकहरूमा स्वास्थ्य अवस्थाबारे चासो बढेपछि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पनि जानकारी सार्वजनिक गरेका छन्। उनले अध्यक्ष साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ सधैंझैँ आफ्नो दैनिकीमा सक्रिय हुनुहुन्छ।’

साम्पाङ पछिल्लो समय देशभर विभिन्न सामाजिक, राजनीतिक तथा जनसहभागितामूलक अभियानका कारण चर्चामा रहँदै आएका छन्। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गर्ने र आफ्ना गतिविधि नियमित रूपमा सार्वजनिक गर्ने उनको शैली समर्थकबीच लोकप्रिय मानिन्छ। तर यही शैली कहिलेकाहीँ जोखिमपूर्ण पनि बन्न सक्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट