सप्तरी र उदयपुरसहित १३ जिल्लाका सिडिओ फेरिएः १८ सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौँ– गृह मन्त्रालयले सप्तरी र उदयपुरसहित १३ जिल्लाका सीडीओ परिवर्तन गरेको छ। मन्त्रालयले प्रशासनिक संरचनामा व्यापक फेरबदल गर्दै १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गर्दा १३ जिल्लाका सीडीओ सरुवामा परेका हुन।

मन्त्रालयले १६ जना सहसचिवको सरुवा र दुई जनाको पदस्थापन गरेको हो। योसँगै सप्तरी, उदयपुर, कास्की, धादिङ, सर्लाही, स्याङ्जा, सुर्खेत, धनकुटा, संखुवासभा, पाल्पा, नवलपरासी पश्चिम, ओखलढुंगा र रामेछापका सिडिओ परिवर्तन भएका छन्।

सप्तरीमा श्याम कृष्ण थापालाई सीडीओको जिम्मेवारी दिइएको छ। उनी यसअघि रामेछापमा कार्यरत थिए। रामेछापमा भने बिनु वज्राचार्य कुँवरलाई नयाँ जिम्मेवारी दिइएको छ, जसको पूर्व कार्यस्थल गृह मन्त्रालय वा अन्तर्गत रहेको उल्लेख छ।

यसैबीच सप्तरीका तत्कालीन सीडीओ टुवराज पोखरेललाई ओखलढुंगा सरुवा गरिएको छ। उदयपुरमा मेख बहादुर मंग्रातीलाई सीडीओका रूपमा पठाइएको छ। उनी यसअघि ओखलढुंगामा कार्यरत थिए।

कास्कीमा कुमान सिंह गुरुङलाई सीडीओको जिम्मेवारी दिइएको छ। उनी गृह मन्त्रालय वा अन्तर्गतबाट सो जिल्लामा पठाइएका हुन्। कास्कीका तत्कालीन सिडिओ रुद्रा देवी शर्मालाई धनकुटा जिल्लामा सरुवा गरिएको छ।

धादिङमा लक्ष्मी पाण्डे गौतमलाई सीडीओका रूपमा खटाइएको छ। उनी गृह मन्त्रालय वा अन्तर्गतबाट धादिङ पुगेकी हुन्। सर्लाहीमा विजयराज सुवेदीलाई सीडीओको जिम्मेवारी दिइएको छ। उनी गृह मन्त्रालय वा अन्तर्गतबाट सिधै जिल्ला प्रशासन कार्यालयमा पठाइएको देखिन्छ।

स्याङ्जामा निराजन घिमिरेलाई सिडिओको जिम्मेवारी दिइएको छ। उनी गृह मन्त्रालय वा अन्तर्गतबाट स्याङ्जा पुगेका हुन्। स्याङ्जाका तत्कालीन सिडिओ ईश्वरी प्रसाद अर्याललाई संखुवासभा सरुवा गरिएको छ।

पाल्पामा भविश्वर पाण्डेलाई सीडीओ बनाइएको छ। उनी यसअघि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कार्यरत थिए। नवलपरासीमा भने जगदीश्वर उपाध्यायलाई पठाइएको छ, उनी यसअघि सुर्खेतमा थिए। सुर्खेतमा गृहमन्त्रालयबाट धर्मराज जोशीलाई सीडीओको जिम्मेवारीमा पठाईएको छ।

सरुवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा सहसचिव सिर्जना थपलियालाई खटाइएको छ। अध्यागमन कार्यालय अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन, सीमा नियन्त्रण तथा विदेशी नागरिकको आवागमन निगरानीका दृष्टिले संवेदनशील निकाय मानिन्छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव कृष्ण पौडेललाई दिइएको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद रिक्त रहेकाले सहसचिव प्रदीप कोइरालालाई जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयले गरेको पछिल्लो सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भनिए पनि एकैपटक १८ सहसचिवको जिम्मेवारी हेरफेर हुनुलाई प्रशासनिक पुनर्संरचनाको संकेतका रूपमा समेत हेरिएको छ। विशेषगरी जिल्ला प्रशासन कार्यालयहरूमा नेतृत्व परिवर्तन गरिनु, अध्यागमन, राष्ट्रिय परिचयपत्र विभाग तथा विपद् व्यवस्थापनजस्ता संवेदनशील निकायमा नयाँ जिम्मेवारी तोकिनुले सरकार प्रशासनिक संयन्त्रलाई थप सक्रिय र परिणाममुखी बनाउने तयारीमा रहेको संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट