विराटनगर एयरपोर्टभित्र यात्रु ठगीको धन्दाः ५० को कोक १६०, १०० को चकलेट २०० !
विराटनगर– विराटनगरस्थित विमानस्थलभित्र पस्नेबित्तिकै सुरक्षाको घेरामा मात्र होइन, यात्रुहरु महँगो मूल्यको जालमा पनि फसिरहेका रहेछन्। विमानस्थलभित्रका होटल तथा क्याफेहरूमा बाहिर बजारमा पाइने मूल्यभन्दा दोब्बर–तेब्बरसम्म बढी रकम असुलेर यात्रुलाई खुला रूपमा ठग्दै आएको खुलासा भएको छ।
विमानस्थलभिात्र ५० रुपैयाँ पर्ने कोकाकोलाको १६० रुपैयाँसम्म असुल्ने र १०० रुपैयाँको चकलेट २०० रुपैयाँमा बेच्ने गरेको पुष्टि भएको छ। विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग चर्को मूल्य असुलिरहेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो। यात्रुहरू विकल्पविहीन हुने अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले उपभोक्तालाई खुलेआम ठगिरहेको आरोपपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा छड्के अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटल ले १०० रुपैयाँ अंकित मूल्य रहेको डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको भेटियो। त्यसैगरी क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटल प्रालि ले ५० रुपैयाँ पर्ने कोकाकोलालाई १६० रुपैयाँमा बिक्री गरेको तथ्य फेला प¥यो, जुन बजार मूल्यभन्दा तीन गुणाभन्दा बढी हो।
त्यसैगरी गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइएको छ भने अनुकुल होटल एण्ड भान्छा घरले ८ रुपैयाँ मूल्य रहेको चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको भेटिएको छ। अनुगमन टोलीले यी सबै कारोबारलाई उपभोक्ता संरक्षण ऐनको स्पष्ट उल्लंघन भएको निष्कर्ष निकालेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक सीडीओ सरोजराज कोइरालाका अनुसार अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गरेको पाइएपछि चारवटै व्यवसायलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो। कारबाहीस्वरूप चारवटै व्यवसायबाट कुल १२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।
कोइरालाले विमानस्थलभित्र सञ्चालित पसलहरूले चर्को मूल्य असुलेको गुनासो लगातार प्राप्त भएपछि आकस्मिक अनुगमन गरिएको बताए। उनका अनुसार विकल्पविहिन यात्रुले हतारको अवस्थाका कारण बढी मूल्य तिर्न बाध्य हुने मनोविज्ञानको दुरुपयोग गरेर व्यवसायीहरूले अस्वाभाविक नाफा कमाउने प्रयास गरेका थिए।
विमानस्थल जस्तो संवेदनशील सार्वजनिक स्थलभित्रै उपभोक्तामाथि भइरहेको यस्तो ठगीपूर्ण अभ्यासले नियमन संयन्त्रको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। सामान्य बजारमा मूल्य सूची अनिवार्य गरिने र उपभोक्ता अधिकारका विषयमा बारम्बार अभियान चलाइए पनि यात्रुहरूको चाप रहने विमानस्थलभित्र भने व्यवसायीहरूले वर्षौंदेखि मनपरी मूल्य असुल्दै आएको गुनासो सुनिँदै आएको थियो।
प्रशासनले आगामी दिनमा पनि यस्ता व्यवसायमाथि नियमित निगरानी राखिने र उपभोक्तालाई ठगी गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। पछिल्लो कारबाहीले विमानस्थलभित्रको मूल्य आतंकमाथि केही हदसम्म अंकुश लगाउने अपेक्षा गरिएको छ।
