‘जादुको झप्पी’ले रास्वपामा तरंगः सामाजिक सञ्जालमा मच्चियो हंगामा !
काठमाडौँ– राजनीतिक प्रतिस्पर्धा सकिएपछि हार–जितलाई सहज रूपमा स्वीकार गर्दै एकअर्कालाई सम्मान गर्नु लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ। तर अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनपछि देखिएको यस्तै एउटा दृश्य सामाजिक सञ्जालमा विवादको विषय बनेको छ।
सभापतिमा निर्वाचित सीता पराजुलीले प्रतिस्पर्धी दिनेश सुनारलाई परिणाम सार्वजनिक भएपछि ‘जादुको झप्पी’ दिएको (अंकमाल गरेको) दृश्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भईरहेको छ। त्यसपछि दुवै नेताले सार्वजनिक रूपमा प्रष्टिकरण दिँदै हिड्न परेको छ। उनिहरुले त्यसको कडा प्रतिवाद गरेका छन्।
दुई दिनअघि सम्पन्न जिल्ला अधिवेशनमा सभापतिमा विजयी भएकी पराजुलीले निर्वाचनपछि सुनारलाई सम्मान र आत्मीयता व्यक्त गर्ने क्रममा अंकमाल गरेकी थिइन्। तर उक्त दृश्यका केही अंशलाई काटछाँट गरी सामाजिक सञ्जालमा फरक आशयका साथ प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएकी छन्।
उनका अनुसार नेतृत्वका लागि प्रतिस्पर्धा भए पनि आफूहरूबीच व्यक्तिगत सम्बन्धमा कुनै तिक्तता नरहेको र पार्टीको सुरुवाती चरणदेखि योगदान दिएका सहकर्मीलाई सम्मान गर्ने उद्देश्यले मात्र उक्त व्यवहार गरिएको थियो।
पराजुलीले निर्वाचन परिणामपछि सुनार भावुक देखिएको उल्लेख गर्दै आफूले उनलाई निराश नहुन र आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने सन्देश दिन खोजेको बताएकी छन्। उनले नेतृत्व चयनलाई प्राविधिक र लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै प्रतिस्पर्धीलाई सम्मान गर्नु लोकतान्त्रिक संस्कारको हिस्सा भएको जिकिर गरेकी छन्।
उनले केही व्यक्तिहरूले नियोजित रूपमा भिडियो सम्पादन गरी गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाएकी छन्। यस्ता गतिविधि केवल व्यक्तिगत चरित्रहत्याको प्रयास मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको प्रहार भएको उनको भनाइ छ। पराजुलीले आफू र सुनार दुवैले त्यस्ता गतिविधिको सार्वजनिक रूपमा निन्दा गरिसकेको र आवश्यक परे साइबर कानुनअन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएकी छन्।
पराजुलीका अनुसार नेपाली राजनीतिक संस्कृतिमा हार्ने पक्षलाई बेवास्ता गर्ने र जित्ने पक्षले एकलौटी व्यवहार गर्ने प्रवृत्ति गहिरो रूपमा बसेको छ। आफूले त्यसलाई तोड्न र प्रतिस्पर्धीलाई सम्मान गर्ने सन्देश दिन खोजेको अवस्थामा त्यसैलाई विकृत ढंगले प्रस्तुत गरिनु दुःखद भएको उनले बताएकी छन्।
यसैबीच पराजुलीसँग प्रतिस्पर्धा गरेका दिनेश सुनारले पनि सामाजिक सञ्जालमा फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले सीता पराजुली आफ्नो आदरणीय दिदी रहेको उल्लेख गर्दै पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आफूहरू निर्वाचन प्रक्रियामा सहभागी भएको स्पष्ट पारेका छन्।
सुनारका अनुसार निर्वाचन प्रतिस्पर्धा विचार, नीति र नेतृत्व चयनको माध्यम हो, व्यक्तिगत सम्बन्ध बिगार्ने माध्यम होइन। परिणामपछि दिदी–भाइबीच भएको आत्मीय संवाद, शुभेच्छा र सम्मानलाई लिएर सामाजिक सञ्जालमा गरिएको भ्रामक व्याख्या, चरित्रहत्याको प्रयास र अशोभनीय टिप्पणीहरू अत्यन्तै निन्दनीय छन्।
उनले राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्धसँग जोडेर अनर्गल टिप्पणी गर्नु, दिदी–भाइको सम्बन्धमाथि प्रश्न उठाउनु र सामाजिक सञ्जाललाई घृणा फैलाउने माध्यम बनाउनु अराजक, अनैतिक र सामाजिक मर्यादाविपरीतको कार्य भएको बताएका छन्। लोकतन्त्रमा मतभेद र प्रतिस्पर्धा स्वाभाविक भए पनि मानवीय सम्बन्ध, संस्कार र सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।
सुनारले यस्ता निम्नस्तरका गतिविधि तत्काल रोक्न आग्रह गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सभ्यता र मर्यादाको सीमाभित्र रहेर अभिव्यक्ति दिन आग्रह गरेका छन्। सम्मान गर्न नसके पनि कम्तीमा सामाजिक उत्तरदायित्व र नैतिकताको आधारभूत सीमा ननाघ्न उनले अनुरोध गरेका छन्।
रास्वपाको अर्घाखाँची अधिवेशनपछि सुरु भएको यो विवादले सामाजिक सञ्जालमा बढ्दो विकृति, भिडियो सम्पादनमार्फत सन्दर्भविहीन सामग्री फैलाउने प्रवृत्ति र राजनीतिक घटनालाई व्यक्तिगत सम्बन्धसँग जोडेर व्याख्या गर्ने संस्कृतिमाथि नयाँ बहस पनि जन्माएको छ। लोकतान्त्रिक प्रतिस्पर्धापछि देखाइएको सम्मानलाई समेत विवादको विषय बनाइनु सामाजिक सञ्जालको प्रयोग कता जाँदैछ भन्ने प्रश्न उठाउने अर्को उदाहरण बनेको छ।
