गरिबको टेम्पो भीरबाट धकेल्ने वन कर्मचारीमाथि अनुसन्धान सुरु, सत्य के हो ?

काठमाडौँ– कानुन कार्यान्वयनको नाममा राज्यका कर्मचारीले एउटा गरिब परिवारको जीविकोपार्जनको आधार नै भीरबाट खसालिदिए कि वन अतिक्रमण हटाउने क्रममा दुर्घटना भयो ? कैलालीको गोदावरीमा भएको टेम्पो प्रकरणले यही प्रश्नलाई राष्ट्रिय बहसको विषय बनाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वन कर्मचारीहरू एउटा टेम्पोलाई धकेल्दै भीरतर्फ लैजाँदै गरेको र केही क्षणमै त्यो टेम्पो तल खसिरहेको दृश्य देखिन्छ।

घटनापछि आलोचनाको केन्द्रमा परेको डिभिजन वन कार्यालय धनगढी आफ्नो बचाउमा उत्रिएको छ भने पीडित परिवारले आफूहरूमाथि राज्यकै तर्फबाट अन्याय भएको आरोप लगाएको छ। यता प्रहरीले भने घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको छ।

घटना गोदावरी नगरपालिका–४ बासपानीस्थित भीमदत्त राजमार्गअन्तर्गत गाईमारे डाँडाको हो। स्थानीय ४४ वर्षीया धनादेवी धामीले सडक किनारमा आफ्नो जीएसए टेम्पो राखेर पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत दैनिक उपभोग्य सामान बिक्री गर्दै परिवार चलाउँदै आएकी थिइन्। उनका तीन छोरा रोजगारीका लागि भारतको बेङ्गलोरमा छन् भने घरमा उनी, श्रीमान् र बुहारी मात्र बस्दै आएका छन्।

धामीका अनुसार त्यही टेम्पो उनको परिवारको आयआर्जनको मुख्य आधार थियो। तर शुक्रबार वन कार्यालयका कर्मचारीहरू आए, टेम्पोभित्रका सामान निकाले र अन्ततः टेम्पोलाई धकेल्दै भीरबाट खसालिदिए। धामी भन्छिन्, ‘बरु सामान लैजानुस्, टेम्पो घर लैजान्छु, अबदेखि यहाँ व्यापार गर्दिनँ भनेर धेरै हारगुहार गरेँ। तर कसैले सुनेन। मेरो आँखा अगाडि टेम्पो भीरबाट खसालियो। गरिबको दुःख कसैले देखेन।’

उनका अनुसार टेम्पो पूर्ण रूपमा सञ्चालनयोग्य अवस्थामा थियो। आफूले चलाउन नजाने पनि आवश्यक पर्दा अरूलाई लगाएर घरसम्म ल्याउने गरेको उनले बताएकी छिन्। तर वन कार्यालयको कथा फरक छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै टेम्पो जानाजान भीरबाट नखसालिएको दाबी गरेका छन्। कार्यालयका अनुसार उक्त टेम्पो चालु अवस्थामा थिएन, कवाडसरह भइसकेको थियो र वन क्षेत्र अतिक्रमण गरी बनाइएको संरचनाको रूपमा प्रयोग भइरहेको थियो।

वन कार्यालयको दाबी अनुसार, चुरे क्षेत्रको सार्वजनिक वनभूमि कब्जा गरी छाप्रा, खोका र अस्थायी संरचना बनाउने क्रम लामो समयदेखि चलिरहेको थियो। त्यही अभियानअन्तर्गत अन्य १० वटा संरचना हटाइएको र उक्त टेम्पो हटाउन एक महिनाअघि नै निर्देशन दिइएको थियो।

कार्यालयका अनुसार टेम्पो हटाउन खोज्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश तल खसेको हो। विज्ञप्तिमा भनिएको छ, ‘गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा असन्तुलित भएर भीरबाट खस्न पुगेको हो।’

तर सार्वजनिक भिडियोले वन कार्यालयको दाबीलाई सहजै पुष्टि गर्न दिँदैन। भिडियोमा कर्मचारीहरू टेम्पोलाई सक्रिय रूपमा धकेलिरहेको दृश्य देखिन्छ। यही कारण सामाजिक सञ्जालमा प्रश्न उठेको छ—यदि टेम्पो गैरकानुनी रूपमा राखिएको थियो भने कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिएर कारबाही गर्न सकिन्थ्यो, भीरबाट खसाल्नै किन आवश्यक प¥यो ?

यही प्रश्नको उत्तर खोज्न अहिले प्रहरी मैदानमा उत्रिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार दुवै पक्षबाट फरक–फरक दाबी आइरहेका छन्। उनले भने, ‘पीडित पक्षले टेम्पो चालु अवस्थामा रहेको बताएको छ। वन कार्यालयले भने कवाड जस्तै थियो भनिरहेको छ। वास्तविकता के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराले पनि पीडित महिलाले न्यायको माग गर्दै आफूहरूसँग सम्पर्क गरेको पुष्टि गरेका छन्। उनले भने, ‘जोरजबरजस्ती जोबाट भएको भए पनि कानुनको दायरामा आउनुपर्छ। तथ्यका आधारमा अनुसन्धान अघि बढिरहेको छ।’

घटनाले अहिले कानुनी प्रश्नसँगै नैतिक प्रश्न पनि उठाएको छ। यदि वन अतिक्रमण भएको थियो भने राज्यसँग कानुनी प्रक्रिया अपनाउने अधिकार थियो। तर कुनै गरिब परिवारको जीविकोपार्जनको आधारलाई सार्वजनिक रूपमा नष्ट गर्नु अधिकारको प्रयोग हो कि शक्ति प्रदर्शन ? यही प्रश्नले अहिले वन प्रशासनलाई कठघरामा उभ्याएको छ।

चुरे संरक्षण आवश्यक छ, वन अतिक्रमण रोक्नैपर्छ। तर संरक्षणको नाममा गरिब नागरिकको रोजीरोटीमाथि प्रहार गर्ने प्रवृत्ति स्वीकार्य हुन्छ कि हुँदैन भन्ने बहस पनि सँगै उठेको छ। अहिलेसम्मको सबैभन्दा ठूलो प्रश्न भने अझै खुला छ— धामीको टेम्पो साँच्चै कवाड थियो, कि एउटा गरिब परिवारको जीवन धान्ने अन्तिम सहारा ? अब यसको जवाफ प्रहरी अनुसन्धानले दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट