घुसकाण्डपछि मधेश प्रहरीमा ‘क्लिनअप अपरेशन’: शक्ति केन्द्रका रुपमा स्थापित ३५ प्रहरी एकैपटक बाहिरिए
राजविराज– मधेश प्रदेश प्रहरी संगठनभित्र लामो समयदेखि निर्माण भएको भनिएको शक्ति सन्तुलन, पहुँच र प्रभावको संरचनामा ठूलो हस्तक्षेप भएको छ। घुसकाण्ड भन्दै सामाजिक सञ्जालमासमेत अडियो सार्वजनिक भई प्रदेश प्रहरी नेतृत्व नै विवादमा परेपछि घट्नाक्रम यहाँसम्म आईपुगेको हो।
अहिले ३५ जना प्रहरी कर्मचारीको सामूहिक अन्तरप्रदेश सरुवा भएपछि यो सरुवालाई अडियो प्रकरणसँग जोडेर हेर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले वरिष्ठ सईदेखि प्रहरी जवानसम्मलाई मधेशबाट बाहिर पठाउने निर्णय गरेपछि यसलाई सामान्य प्रशासनिक सरुवा नभई मधेश प्रहरीभित्रको ‘क्लिनअप अपरेशन’ का रूपमा व्याख्या गर्न थालिएको छ।
घटनाक्रमको सुरुवात मधेश प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी गोविन्द थपलियासँग जोडिएको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि भएको थियो। व्यापारीसँग रकम लेनदेनको विषय जोडिएको उक्त अडियो बाहिरिएपछि मधेश प्रदेशको प्रहरी प्रशासन राष्ट्रिय बहसको केन्द्रमा पुगेको थियो। त्यसपछि प्रहरी संगठनमाथि बढेको दबाब, आन्तरिक असन्तुष्टि र जनस्तरको प्रश्नबीच प्रहरी मुख्यालयले मधेश प्रदेशमा व्यापक पुनर्संरचनाको प्रक्रिया अघि बढाएको स्रोतहरूको दाबी छ।
यही घटनापछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मधेश प्रदेशमा लामो समयदेखि कार्यरत र विभिन्न शक्ति केन्द्रसँग निकट मानिएका कर्मचारीहरूको विवरण माग गरी सरुवा प्रक्रिया अघि बढाएको प्रहरी स्रोत बताउँछ। त्यसको परिणामस्वरूप एकैपटक ३५ जना तल्लो दर्जाका प्रहरी कर्मचारी अन्तरप्रदेश सरुवामा परेका छन्।
सरुवामा पर्नेहरूमा वरिष्ठ सई, सई, असईदेखि प्रहरी जवानसम्म छन्। विशेषगरी सादा पोशाकमा काम गर्ने, मुद्दा अनुसन्धानमा संलग्न तथा वर्षौंसम्म एउटै जिल्ला र क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरू बढी प्रभावित भएका छन्। प्रहरी स्रोतका अनुसार विगतमा राजनीतिक संरक्षण, स्थानीय प्रभावशाली व्यक्तिसँगको सम्बन्ध, व्यक्तिगत पहुँच वा शक्ति केन्द्रसँगको निकटताका कारण कतिपय कर्मचारी लामो समयसम्म एउटै जिल्लामा टिकिरहेका थिए। अहिलेको सरुवाले त्यही संरचनालाई भत्काउने प्रयास भएको बुझाइ प्रहरी वृत्तमै सुनिन थालेको छ।
घटनाक्रमलाई थप अर्थपूर्ण बनाउने अर्को पक्ष समयको सन्दर्भ हो। दोस्रोपटक गृहमन्त्री बनेका सुधन गुरुङले जिम्मेवारी सम्हालेको केही दिनभित्रै मधेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखहरूको सरुवा गरेका थिए। मधेश प्रदेशमा डीआईजी ओमप्रसाद अधिकारीलाई पठाइयो भने डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा गरियो। सुदूरपश्चिममा पनि डीआईजी ओम राणालाई फिर्ता बोलाएर उनको स्थानमा डीआईजी सानुराम भट्टराईलाई पठाइएको थियो।
तर परिवर्तन त्यतिमै सीमित रहेन। घुसकाण्डसँग जोडिएर चर्चामा आएका सई जयलाल यादव र अडियो संवादमा नाम आएको भनिएका वरिष्ठ सई सागर राणा पनि सरुवामा परे। वरिष्ठ सई राणालाई जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतको इलाका प्रहरी कार्यालय बुढीनन्दा पठाइएको छ। यसले सरुवा प्रक्रिया केवल नियमित प्रशासनिक निर्णय नभई विवादित र प्रभावशाली मानिएका कर्मचारीहरूको सञ्जाल तोड्ने प्रयास हुन सक्ने अड्कललाई थप बल दिएको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार मधेश प्रदेश प्रहरी कार्यालयले मातहतका सबै कार्यालयलाई पत्राचार गर्दै सरुवामा परेका कर्मचारीलाई तत्काल रमाना गर्न निर्देशन दिएको थियो। त्यसपछि सरुवामा परेका कर्मचारीहरूलाई देशका विभिन्न जिल्लामा खटाइएको छ।
सरुवा सूची हेर्दा मधेश प्रदेश प्रहरी गण जनकपुरधामका वरिष्ठ सई रामबालक राय यादव जिल्ला प्रहरी कार्यालय बाग्लुङ पुगेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ सई भानुभक्त नेपाललाई मुस्ताङ पठाइएको छ। सर्लाहीमा कार्यरत रोशन अधिकारी ओखलढुंगा पुगेका छन् भने धनुषाका वरिष्ठ सई टेकबहादुर कार्की भोजपुर सरुवा भएका छन्। रौतहटका वरिष्ठ सई प्रकाश सिम्खडा पाँचथर पुगेका छन् भने वरिष्ठ सई राजेन्द्र गिरी उदयपुर सरुवा भएका छन्।
त्यस्तै बारा र धनुषामा लामो समयदेखि कार्यरत सई अर्जुनबाबु खतिवडालाई तनहुँ पठाइएको छ। धनुषास्थित तालिम केन्द्रमा दरबन्दी भई विशेष सुरक्षा गणमा कार्यरत सई किरण कार्कीलाई दार्चुला सरुवा गरिएको छ। असई राजकिशोर कुमार यादव म्याग्दी, अमित कुमार राय लमजुङ तथा सुधिरकुमार शाह मनाङ पुगेका छन्। अन्य प्रहरी कर्मचारीहरूलाई पनि संखुवासभा, दार्चुला, भोजपुर, काठमाडौंलगायतका जिल्लामा खटाइएको छ।
यद्यपि सरुवा प्रक्रियालाई लिएर संगठनभित्र सबैले समान रूपमा स्वीकार गरेका छैनन्। सरुवामा परेका कतिपय कर्मचारीहरूले आफूहरूले न्यूनतम कार्यअवधिसमेत पूरा नगरेको अवस्थामा सरुवा गरिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार आफूहरूमाथि कुनै अनुशासनात्मक कारबाही, नसिहत वा विभागीय सजायको निर्णय नभए पनि अचानक अन्तरप्रदेश सरुवा गरिएको छ।
केही कर्मचारीहरूले अनौपचारिक रूपमा व्यक्त गरेको असन्तुष्टि अझ रोचक छ। उनीहरूको भनाइमा उच्च प्रहरी अधिकारीहरूबीचको सम्बन्ध, विवाद वा शक्ति संघर्षको असर आफूहरूमाथि परेको छ। विशेषगरी डीआईजी थपलियासँग सम्बन्ध राम्रो नभएका जिल्ला तथा इलाका प्रमुखहरूसँग निकट मानिएका कर्मचारीहरू पनि सरुवामा परेको दाबी प्रहरी वृत्तमै सुनिन्छ। यद्यपि यस्ता दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्।
यही कारण अहिलेको सरुवालाई लिएर दुईवटा फरक धारणा देखिएका छन्। पहिलो धारणा, मधेश प्रदेशमा वर्षौंदेखि जरा गाडेर बसेका र विभिन्न प्रभावशाली सञ्जालसँग जोडिएका कर्मचारीलाई हटाएर संगठनलाई नयाँ स्वरूप दिन खोजिएको हो। दोस्रो धारणा, घुसकाण्डपछि सिर्जित दबाब व्यवस्थापन गर्न हतारमा गरिएको निर्णयका कारण केही कर्मचारी अन्यायमा परेका हुन सक्छन्।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले भने सरुवालाई नियमित प्रशासनिक प्रक्रिया मान्छन्। उनका अनुसार प्रहरी संगठनमा आवश्यकता, संगठनात्मक हित र जनशक्तिको व्यवस्थापनका आधारमा सरुवा भइरहन्छ। प्रहरी सेवामा प्रवेश गरेपछि संगठनले जहाँ खटाउँछ, त्यहाँ जानु कर्मचारीको दायित्व हो।
तर मधेश प्रदेशमा एकैपटक ३५ जना प्रहरी कर्मचारीको अन्तरप्रदेश सरुवा, प्रदेश प्रहरी प्रमुखको परिवर्तन, घुसकाण्डसँग जोडिएका कर्मचारीहरूको स्थानान्तरण र लामो समयदेखि एउटै क्षेत्रमा कार्यरत प्रहरीहरूको विस्थापनलाई जोडेर हेर्दा यो केवल नियमित सरुवा प्रक्रिया मात्र हो भन्ने निष्कर्षमा पुग्न धेरैलाई कठिन भइरहेको छ।
अहिलेलाई एउटा कुरा भने स्पष्ट देखिएको छ—घुसकाण्डपछि मधेश प्रहरीभित्र वर्षौंदेखि बनेको शक्ति सन्तुलन हल्लिएको छ। अब यो प्रक्रिया वास्तविक सुधार अभियान साबित हुन्छ कि केवल विवादपछि गरिएको प्रशासनिक व्यवस्थापन, त्यसको उत्तर आगामी दिनका घटनाक्रमले दिनेछन्।

