सप्तरीमा इच्छाविपरीत विवाह गराएको आरोपमा एक जना पक्राउ
राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिकामा एक युवकको जवर्जस्ती विवाह गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुरुङ्गा नगरपालिका–९ का २४ वर्षीय मनोज ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ‘मञ्जुरीविना विवाह गराएको विवाह सम्बन्धी कसुर’ मुद्दामा उनलाई पक्राउ गरिएको छ। उनीमाथि ०८२ साउन ३१ गते साँझ सुरुङ्गा नगरपालिका–९ स्थित विद्यालय परिसरमा रहेको मन्दिरमा इच्छा तथा मञ्जुरीविपरीत नागेन्द्र यादव र सुरुङ्गा नगरपालिका–१० की २२ वर्षीया प्रियंका कुमारी यादवको विवाह गराएको आरोप छ।
घटनापछि आरोपित फरार रहेका ठाकुरलाई ११ महिनापछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो। सोही क्रममा ०८३ असार २ गते सुरुङ्गा नगरपालिका–९ मै लुकीछिपी बसिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई जिल्ला अदालत सप्तरीबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए।
नेपालको प्रचलित कानुनअनुसार कुनै व्यक्तिको स्वतन्त्र इच्छा र सहमतिविना विवाह गराउनु फौजदारी कसुर मानिन्छ। यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही र सजायको व्यवस्था छ।

