बेतियामा बन्यो अपहरण र फिरौतीको ब्लुप्रिन्ट, चितवनबाट उठाएर काठमाडौँ पुर्याईएका किशोरलाई एउटा चिर्कटोले बचायो
काठमाडौँ– भारतको बिहारस्थित बेतियामा केही युवाले बनाएको एउटा योजनाले तीन दिनभित्र अन्तरदेशीय अपराधको रूप लियो। योजना थियो—नेपाल आएर चिनेजानेकै एक किशोरलाई अपहरण गर्ने, परिवारसँग २२ लाख रुपैयाँ फिरौती माग्ने र रकम असुलेर भारत फर्किने।
त्यसका लागि भारतीय नम्बर प्लेटको गाडीको व्यवस्था गरियो, नेपाली सिमकार्ड निकालियो, होटल बुक गरियो र लक्ष्य पनि पहिल्यै तय गरियो। तर अपहरणकारीहरूले नसोचेको एउटा कुरा भयो— बन्धक बनाइएका किशोरले आफ्नो बुद्धिमानी प्रयोग गर्दै कागजको सानो चिर्कटोमा ‘हेल्प, प्लिज कल पुलिस’ लेखेर बाहिर फालिदिए। त्यही चिर्कटोले अन्ततः अपहरणकारीहरूको सम्पूर्ण योजना ध्वस्त पार्यो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानले देखाएको तथ्यअनुसार यो कुनै आकस्मिक घटना वा फिल्मको कथा होईन। अपहरणको योजना २०८३ जेठ २९ गते भारतको बिहार राज्यस्थित बेतियामा बनाइएको थियो। मुख्य योजनाकारको रूपमा पक्राउ परेका १८ वर्षीय सुजित कुमारलाई प्रहरीले देखाएको छ। उनले आफ्ना अन्य चार साथीहरूसँग मिलेर नेपाल प्रवेश गर्ने, चितवनमा बस्ने, चिनेजानेका किशोरलाई भेट्न बोलाउने र अपहरण गरेर फिरौती असुल्ने योजना बनाएका थिए।
योजना बनेको भोलिपल्ट अर्थात् जेठ ३० गते उनीहरू बीआर–२२ बीए–६१३७ नम्बरको भारतीय स्कर्पियो गाडीमा वीरगञ्ज भन्सार हुँदै नेपाल प्रवेश गरेका थिए। गाडीका लागि छ दिनको भन्सार पास बनाइएको थियो। अनुसन्धानका क्रममा उनीहरूले नेपाली नम्बरमा प्रत्यक्ष सम्पर्क नगरी प्रहरीलाई छल्न विशेष सावधानी अपनाएको समेत खुलेको छ।
प्रहरीका अनुसार गोलु कुमारको आधार कार्ड प्रयोग गरेर नेपाली सिमकार्ड निकालिएको थियो। उक्त सिमकार्डबाट फोन सम्पर्कभन्दा बढी वाट्सएप चलाइएको थियो। अपहरण सफल भएपछि प्रयोगका लागि राखिएको सिमकार्ड मुग्लिन पुग्दा फालिएको थियो। अनुसन्धान अधिकारीहरूका अनुसार यो कदमले अपहरणकारीहरू योजनाबद्ध रूपमा प्रहरीको निगरानीबाट बच्न खोजेको संकेत गर्छ।
नेपाल प्रवेश गरेपछि उनीहरू सीधै चितवन पुगे। राति करिब १० बजे पुगेका उनीहरूका लागि सुजितका एक साथीले गुल्मेली होटल एन्ड लजमा बस्ने व्यवस्था मिलाएका थिए। त्यहाँ दुई दिनका लागि कोठा बुक गरिएको थियो।
प्रहरी अनुसन्धानअनुसार अपहरित किशोर र सुजित कुमारबीच पुरानो चिनजान थियो। दुवै जना केही वर्षअघि चितवनमा एउटै विद्यालयमा पढेका थिए। पछि सुजित भारत फर्किए पनि सामाजिक सञ्जालमार्फत सम्पर्क कायम थियो।
असार १ गते साँझ सुजितले इन्स्टाग्राममार्फत किशोरलाई सम्पर्क गरी भेट्न बोलाए। साथीको विश्वासमा उनी चितवनको सिद्धार्थ बोर्डिङ स्कुल पछाडिको स्थानमा पुगे। तर त्यहाँ पुगेपछि परिस्थितिले नाटकीय मोड लियो।
साँझ करिब साढे ६ बजे चार जनाको समूहले उनलाई जबर्जस्ती गाडीमा हाल्यो र आफूहरू बसेको होटलमा लग्यो। सुरुमा केही घण्टा फकाएर राखियो। त्यसपछि चक्कु देखाउँदै, कुटपिट गर्दै र ज्यान मार्ने धम्की दिँदै भारतीय स्कर्पियोमा काठमाडौँतर्फ ल्याइयो। अपहरणकारीहरूले किशोरलाई कुनै पनि हालतमा प्रतिरोध नगर्न चेतावनी दिएका थिए। बाटोभरि उनलाई मानसिक तथा शारीरिक दबाबमा राखिएको थियो।
राति करिब ११ बजे उनीहरू कलंकी पुगे। त्यसपछि नयाँ बसपार्क क्षेत्रमा रहेको फेमिली होटलको कोठा नम्बर २०३ मा बास बस्ने व्यवस्था मिलाइयो। होटल व्यवस्थापनको जिम्मा काठमाडौँमा बस्दै आएका भारतीय नागरिक विक्की पटेलले मिलाएको खुलेको छ। त्यतिबेलासम्म किशोर पूर्ण रूपमा बन्धक अवस्थामा थिए।
काठमाडौँ ल्याएपछि मात्रै अपहरणकारीहरूले आफ्नो मुख्य उद्देश्य कार्यान्वयन गर्न थाले। असार २ गते बिहान किशोरका बुबालाई वाट्सएपमार्फत सम्पर्क गर्दै २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन माग गरियो। उनीहरूले रकम नदिए छोराको ज्यान लिने धम्कीसमेत दिएका थिए।
विडम्बना के थियो भने, त्यो फोन आउनुअघि परिवारलाई छोरा अपहरणमा परेको स्पष्ट जानकारी नै थिएन। परिवारले सुरुमा छोरासँग सम्पर्क हुन नसकेको मात्रै महसुस गरेको थियो। तर त्यसअघि नै एउटा अनपेक्षित घटनाले अपहरणकारीहरूको योजना चिरा पारिसकेको थियो। होटलमा बन्धक बनाइएका किशोरले मौका खोजिरहेका थिए। अपहरणकारीहरूले बाटोमा किनेको मोबाइल चार्जरको प्याकेटमा टाँसिएको कागज उनको हातमा परेको थियो। खल्तीमा कलम पनि थियो।

होटलको बाथरुम प्रयोग गर्ने बहानामा उनी एकान्तमा पुगे। त्यही कागजमा उनले आफ्नो नाम, बुबाको नाम, घर ठेगाना र सम्पर्क नम्बर लेखे। अन्त्यमा ‘हेल्प, प्लिज कल पुलिस, किड्न्याप्ड’ भन्ने सन्देश थपे। त्यसपछि उनले त्यो कागज होटल बाहिर फालिदिए। केही समयपछि एक व्यक्तिले उक्त चिर्कटो फेला पारे। उनले त्यसमा लेखिएको नम्बरमा सम्पर्क गरे। फोन बालकका बुबासम्म पुग्यो। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गरायो। यही सूचनाले अनुसन्धानको दिशा नै बदलिदियो।
सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय भयो। चिर्कटो फेला परेको क्षेत्र वरपरका होटलमा खोजी सुरु गरियो। खोजीका क्रममा नयाँ बसपार्कस्थित फेमिली होटलको कोठा नम्बर २०३ मा किशोर बन्धक बनाइएको अवस्थामा भेटिए। प्रहरी टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै किशोरलाई सकुशल बाहिर निकाल्यो।
सोही क्रममा घटनामा संलग्न पाँच भारतीय नागरिक पक्राउ परे। पक्राउ पर्नेहरूमा बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षीय गोलुकुमार सोनी, १८ वर्षीय गोलु कुमार, १८ वर्षीय विक्की कुमार र १८ वर्षीय मोहम्मद शाहिद छन्। कोठाबाट बालकलाई धम्क्याउन प्रयोग गरिएका दुई थान चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भारतीय स्कर्पियो चलाएर नेपाल ल्याउने मुमताज आलम र चितवनमा होटल व्यवस्थापन मिलाउने सक्षम शर्मा फरार रहेको खुलेको छ। प्रहरी उनीहरूको खोजीमा जुटेको छ। प्रहरी अधिकारीहरूका अनुसार फिरौतीका लागि गरिने अधिकांश अपहरण घटनामा अपहरित व्यक्तिको ज्यान उच्च जोखिममा रहने गर्छ। विशेषगरी अपहरणकारीसँग पहिचान भएको अवस्थामा रकम असुलेपछि प्रमाण मेटाउन हत्या गरिएका उदाहरणहरू पनि छन्।
यही कारण अनुसन्धान अधिकारीहरू यो घटनामा किशोरको बुद्धि नै उनको जीवन रक्षाको प्रमुख कारण बनेको बताउँछन्। भारतमा बनेको २२ लाख रुपैयाँ असुल्ने योजनाबद्ध ब्लुप्रिन्ट, चितवनबाट गरिएको अपहरण, काठमाडौंको होटलमा बनाइएको बन्धक कोठा र परिवारमाथि सिर्जना गरिएको दबाब—यी सबै योजनाहरू अन्ततः एउटा सानो चिर्कटोले ध्वस्त पारिदियो।
अपहरणकारीहरूले सबै योजना बनाए, बाटो छाने, गाडीको व्यवस्था गरे, सिमकार्ड फाले, प्रहरी छल्ने प्रयास गरे। तर उनीहरूले एउटा कुरा अनुमान गर्न सकेनन—बन्धक बनाइएको किशोर उनीहरूभन्दा एक कदम अगाडि निस्किनेछन्। किशोरको यही वुद्धिमताका कारण अहिले पाँचै जना भारतीय किशोर प्रहरी हिरासतमा छन्।

