पौडी खेल्न गएकी १४ वर्षीया आयुसाको डुबेर मृत्यु, दहमा भेटियो शव

गाईघाट — साथीभाइसँग खोलामा पौडी खेल्न गएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधारकी एक किशोरीको डुबेर मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया आयुसा सदाको मृत्यु भएको हो।

गर्मी छल्न देवधार खोलाको दहमा पसेकी उनी केही क्षणमै पानीमा बेपत्ता भएकी थिइन्। स्थानीयवासी र प्रहरीको संयुक्त खोजी अभियानपछि करिब तीन घण्टापछि उनको शव दहबाटै फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधन सदाकी छोरी आयुसा मंगलबार दिउँसो करिब सवा ४ बजे बेपत्ता भएकी थिइन्। प्रहरी टोली र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए। त्यसै क्रममा साँझ करिब सवा ७ बजे आयुसा मृत अवस्थामा फेला परेकी थिइन्।

स्थानीयका अनुसार वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव र गहिराइ बढ्न थालेको छ। बाहिरबाट सामान्य देखिए पनि दहका केही भाग निकै गहिरा हुने भएकाले हरेक वर्ष यस्ता दुर्घटनाको जोखिम रहने गरेको उनीहरू बताउँछन्।

आयुसाको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने गाउँभरि नै दुःखद वातावरण बनेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको देखिए पनि घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट